अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका थप एकमहिना बन्द
प्रकाशित मिति : असार ४, २०७७ बिहीबार
अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका थप एकमहिना बन्द हुने भएको छ । स्थल नाकाबाट आगामी जुलाई २१ सम्मका लागि अत्यावश्यक बाहेकका आवतजातवतमा प्रतिबन्ध लगाइएको छ ।
सीबीपीले क्यानडा र मेक्सिकोसँगको स्थल तथा जलयात्रामा पनि प्रतिबन्ध लगाएको हो । यसअगाडिको प्रतिबन्ध जुन २२ मा समाप्त हुन लागेकोमा त्यसलाई बढाएर जुलाई २१ सम्म बनाइएको हो ।
सुरुमा घोषणा गरिएको प्रतिबन्ध अप्रिल २० मा समाप्त हुने तय भएको थियो । तर कोरोनाको महामारीका कारण त्यसमा दुईपटक अवधि थपिएको छ । जुलाई पछि पनि अवधि थपिने वा नथपिने कुराको निर्धारण महामारीको अवस्थामा भरपर्ने जनाइएको छ ।
अहिलेको अवस्थामा घुमफिर, जुवा, सांस्कृतिक कार्यक्रम, पर्यटन, प्रकृतिको रस्वादन लगायतका प्रयोजनका लागि आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धले अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई अमेरिका आउनमा भने रोक लाग्दैन ।
त्यस्तो कार्गो बोकेका ट्रक, अमेरिकामा कामका लागि यात्रा गर्नेहरु, मेडिकल उद्देश्यका लागि यात्रा गर्नेहरुलाई पनि आवतजावतमा रोक लगाइदैन । अत्यावश्यक कामका लागि आउन लागेका अमेरिकी नागरिक वा ग्रिनकार्डवाहक बाहेक अन्यले भने सिमानामा सीबीपी अधिकारीहरुका प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ ।






