जनवरी १ देखि मार्च ३० भित्र लिएको नेपालको भिसा स्वत एकबर्ष लम्बिने
प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार
विदेशमा रहेका नेपाली दूतावासहरु र कन्सुलेटहरुबाट जनवरी १ देखि मार्च ३० भित्र लिएको नेपालको भिसा स्वत एकबर्ष लम्बिने भएको छ । उक्त अवधिभित्र कसैले नेपालको भिसा लिएको भएमा र नेपाल जान नसकेको अवस्था भएको खण्डमा उनीहरुको भिसा एकबर्षका लागि निशुल्क र स्वत लम्बिने भएको छ ।
परराष्ट्र मन्त्रालयको अनुरोध नेपाल सरकारको गृह मन्त्रालय अन्तरगत अध्यागमन विभागले नेपालको भिसा लिएका विदेशीहरु र एनआरएनहरुको भिसा स्वत एकबर्ष लम्बाउने निर्णय गरेको हो । भिसा स्वत लम्बिएकोबारे आफूहरुले उक्त अवधिमा भिसा लिएका भिसा वाहकहरुलाई सुचित गरिरहेको नेपाली महावाािणज्यदूतावास न्युयोर्कका कार्यकारी महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जनवरी १ देखि मार्च ३० भित्र नेपालको भिसा लिएकाहरुको भिसा जारी भएको मितिले एकबर्षभित्र नेपाल प्रवेश गर्नका लागि कुनै प्रकृया चाल्नुपर्दैन । कुनै आवेदन वा शुल्क विना नै उहाँहरु भिसा जारी भएको मितिले एकबर्षभित्र नेपाल प्रवेश गर्न पाउनुहुनेछ ।’

उक्त अवधिमा नेपालको भिसा लिएका एनआरएनहरुको संख्या पनि उल्लेख्य रहेको भट्टराईले जानकारी दिनुभयो । तर कोरोनाका महामारीका कारण नेपालमा लकडाउन सुरु भएकाले अन्तर्राष्ट्रिय उडानहरु रोकिंदा उनीहरु नेपाल जान पाएका थिएनन् । नेपाल सरकारले ल्याएको नयाँ व्यवस्थपछि अब उनीहरुले नयाँ शुल्क तिरेर नयाँ भिसा लिनुनपर्ने भएको छ ।






