पाकिस्तानी ह्याकरले राजनको फेसबुक पेज ह्याक गरेर भियतनामीलाई ५ सय डलरमा बेचेपछि


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

न्युयोर्क निवासी युवा लेखक राजन थपलियाले गएराती आफ्नो भेरिफाइड फेसबुक पेज झण्डै ४ घण्टाका लागि गुमाए । यो अवधिमा उनको फेसबुक पेज पाकिस्तानी ह्याकरले ह्याक गरेर भियतनामीलाई ५ सय डलरमा बेचिसकेका थिए ।

बुधबार राती राजनलाई फेसबुक पेजको इनबक्समा एउटा मेसेज आयो – ‘हामी तपाईको पेजमार्फत विज्ञापन गर्न चाहन्छौं, त्यसबापत हामीले तपाईलाई साप्ताहिक ५ सय डलर दिनेछौं । यस्तो मेसेज राजनलाई अरुबेला पनि आउने गरेको थियो । तर वास्ता गरेका थिएनन् ।’

खासगरी भेरिफाइड भइसकेका पेजहरुमा ह्याकरहरुले यस्ता मेसेजहरु पठाउने गर्छन् । उनीहरुले पेजमार्फत लिंकहरु पोष्ट गरिदिएमा वा विज्ञापन पोष्ट गरिदिएमा आकर्षक रकम उपलब्ध गराउने भन्दै मेसेज गर्ने गर्छन् र पेजको विजनेश म्यानजेर आफूले लिएर पेज ह्याक गर्ने गर्छन् ।

सुरुमा यही फेक एकाउन्टबाट राजनको पेजमा मेसेज आएको थियो ।

राजनलाई पनि फेसबुक पेजको इनबक्समा आएको मेसेजले जिज्ञासु बनायो । उनले काइलिन डोयल नामको फेसबुकबाट आएको मेसेजको जवाफ दिए । उक्त फेसबुक प्रोफाइलमा युवतीको तस्वीर राखिएको थियो भने अमेरिकाको मिसिगनमा बस्ने बताइएको थियो । फेसबुक च्याटमा केहीबेर कुरा गरेपछि ह्याकरले राजनलाई एउटा इमेल पठाएर क्लीक गर्न लगाए । राजनले त्यसमा क्लिक गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जब राजनले उक्त लिंकमा क्लिक गरे, उनको पेजको विजनेश म्यानेजर उक्त ह्याकर भइसकेको थियो । राजनले हत्तपत्त आफ्नो पेजको एड्मीन रोल सेक्सन चेक गरे, त्यहाँ ह्याकरले अरु तीनचारजनालाई एड्मीन बनाइसकेको थियो ।

त्यहाँ उसले अरुकेही विजनेश जस्ता देखिने प्रोफाइललाई मेरो पेजको एड्मीन बनाइसकेको रहेछ । ‘मैले उनीहरुलाई हटाउन खोजें । तर तत्कालै उनीहरुले मेरो प्रोफाइललाई नै मेरो पेजको एड्मीनबाट हटाए ।’ –  राजनले खसोखासलाई भने ।

राजन थपलिया न्युयोर्क निवासी युवा लेखक हुन् । उनका झण्डै दर्जन पुस्तक प्रकाशित छन् ।

यतिबेलासम्म राजनले आफ्नो पेज ह्याक भइसकेको र आफू ह्याकरको फन्दामा परेको थाहा पाइसकेका थिए । तर फेसबुक पेजको एड्मीनबाट राजनलाई ह्याकरले हटाइसकेकाले उनको आफ्नो पेजका पहुच गुमिसकेको थियो ।

उनले पेज ह्याक गर्न आफूसँग कुरा गरेको फेसबुक प्रोफाइलको इनबक्समा मेसेज गरेर आफ्नो पेज फिर्ता दिन चेतावनी दिए । तर आफ्नो काम पूरा गरिसकेको ह्याकरले उनको मेसेजको जवाफ दिने कुरै थिएन । अझ उल्टो उनको इमेलमा फेसबुकबाट आएको इमेलजस्तो देखिनेगरी नक्कली इमेल पठाएर कन्भिन्स गर्न खोजे ।

एकैछिनमा राजनको फेसबुक पेज नै गायब भयो । उनले सर्च गर्दा आफ्नो पेज नै फेला पार्न सकेनन् । किनभने त्यतीबेलासम्म ह्याकरले फेसबुक पेजको नाम र युजर आईडी समेत परिवर्तन गरिसकेको रहेछ । राजन भन्छन् – ‘उनीहरुले यती तीब्र गतिमा काम गरे कि चलचित्रको दृश्यजस्तो माहौल बन्यो । उनीहरुले पेज ह्याक गर्नासाथ तुरुन्तै नाम, प्रोफाइल फोटो, आईडी र अन्य विवरणहरु परिवर्तन गरे ।’

ह्याकरले राजनको पेज ह्याक गरेपछि नाम, फोटो र विवरण यसरी परिवर्तन गरिदिए ।

त्यसपछि राजनले आफ्नो पेज ह्याक भएको भन्दै फेसबुकमा रिपोर्ट गरे । फेसबुकले केहीघण्टापछि उनलाई पेज फिर्ता गरेको भन्दै ह्याकरको कब्जामा गएको पेज राजनलाई नै फिर्ता दियो । राजनले फेसबुक पेज त फिर्ता पाए तर त्यसमा नाम परिवर्तन गरिएको थियो भने फोटो र अन्य विवरण पनि परिवर्तन गरिएको थियो । राजनले आईडी, तस्वीर र अन्य विवरण त परिवर्तन गर्नसके तर पेजको नाम भने पहिलेकै बनाउन सकेनन् । राजन थपलियाको पेजको नाम परिवर्तन गरेर ह्याकरले ‘राजन थाप ताम‘ बनाइदिए ।

जब राजनले फेसबुक पेज फिर्ता पाए तब ह्याकरहरुको परिचय खुल्न थाल्यो । सुरुमा राजनसँग कुरा गर्ने युवतीको तस्वीर भएको प्रोफाइल पनि फेक भएको खुलासा भयो भने उक्त प्रोफाइल चलाउने व्यक्ति पाकिस्तानको हैदराबाद सिन्धमा बस्ने असद अली लगारी रहेको खुलासा भयो । किनभने उक्त व्यक्तिले राजनको फेसबुक पेज ह्याक गरेर भियतानामको नुगेन सन नाम गरेको व्यक्तिलाई ५ सय डलरमा बेचेको रहेछ ।

राजनको फेसबुक पेज ह्याक गरेर बेच्नका लागि पाकिस्तनीले भियतनामीसँग गरेको डिल । यो स्क्रीनसट आफू ठगिएको बताउने भियतनामीले उपलब्ध गराएका हुन् ।

आफूले ह्याकरलाई ५ सय डलर तिरेपनि राजनको फेसबुक पेज प्राप्त गर्न नसकेपछि नुगेन सन नामको व्यक्तिले आफू ठगिएको पत्तो पाए । उनले आफूलाई राजनको पेज दिलाइदिने भन्दै ५ सय डलर लिएका ह्याकरहरुलाई सम्पर्क गर्दा उनीहरुले सकारात्मक रेस्पोन्स नदिएपछि ती व्यक्तिले राजनलाई नै फेसबुक प्रोफाइलमा सम्पर्क गरे । र, आफूले पाकिस्तानमा बस्ने असद अली लगारीलाई ५ सय डलर तिरेको बताए ।

ह्याकरको समुहले यसरी गु्रप बनाएर पेज ह्याकबारे छलफल र डिल गरेका थिए । यो स्क्रीनसट आफू ठगिएको बताउने भियतनामीले उपलब्ध गराएका हुन् ।

राजनको पेजमा असद अली लगारीको समुहले केहीदिनदेखि नै आँखा लगाएको रहेछ । उक्त समुहले भियतनाममा बस्ने व्यक्तिलाई राजनको पेजको लिंक पठाएर ५ सय डलरमा दिलाइदिने डिल पहिले नै गरिसकेको रहेछ । राजन भन्छन् – ‘उनीहरुले फेसबुकमा समुह बनाएर नै यसबारे डिल गरेका रहेछन् । डिल मिलेपछि उनीहरुले मसँग सम्पर्क गरेर पेज ह्याक गरेका रहेछन् ।’

भियतनामी युवाले आफू ठगिएको भन्दै राजनसँग गरेको च्याट ।

राजनको पेजमा ७० हजारभन्दा धेरै लाइक रहेका छन् । तर उनको पेज भेरिफाइड भएकाले ह्याकरले आँखा लगाएका रहेछन् । भेरिफाइड पेज ह्याक गर्न सकेमा राम्रो पैसा कमाउन सकिने भएकाले ह्याकरहरुले भेरिफाइड पेज ह्याक गर्ने प्रयास गर्दै आएका छन् ।

आफू ठगिएपछि भियतनामी युवाले राजनले पाकिस्तानी ह्याकरको वास्तविक फेसबुक प्रोफाइल दिएका थिए । त्यसपछि राजनले ह्याकरलाई मेसेज पठाएपछि ह्याकरले भियतनामीलाई सम्पर्क गरेर किन आफ्नो प्रोफाइल दिएको भन्दै रिसाएका थिए ।

भियतनामको नुगेन सन भन्ने व्यक्तिले आफू पाकिस्तानी ह्याकरबाट ठगिएको र आफ्नो पैसा गुमेको भन्दै राजनलाई मेसेज गरेका थिए । उनले आफूलाई पाकिस्तानीहरुले आफूहरुसँग भेरिफाइड पेजहरु रहेको र त्यही पेज बेच्ने बताएकाले आफूले उक्त पेज किन्न खोजेको राजनलाई बताएका थिए । तर उनीहरु ह्याकर भएको र अरुको पेज ह्याक गरेर आफूलाई बेच्न खोजेको बारे आफूलाई जानकारी नभएको भियतनामी युवाले बताएका छन् ।

आफू ठगिएको बताउने भियतनामीको फेसबुक प्रोफाइल ।

आफूले यो घटनाबाट ठूलो पाठ सिकेको भन्दै राजनले आफ्नो फेसबुक पेज फिर्ता दिलाएकोमा फेसबुकलाई धन्यवाद दिएका छन् । साथै उनले फेसबुक पेज चलाउने र त्यसमा पनि भेरिफाइड फेसबुक पेज हुनेहरुलाई ह्याकरले निशानामा पार्ने भएकाले सचेत रहन समेत सुझाव दिएका छन् । राजनले भने – ‘यदि तपाईको पेज भेरिफाइड छ । र तपाईलाई कसैले विज्ञापन वा लिंक पोष्ट गरेवापत आकर्षक रकम दिने बताएको छ भने त्यस्तो व्यक्ति ह्याकर हुनसक्छ । उनीहरुले पठाएको कुनै पनि लिंकमा क्लिक नगर्नुहोला । उनीहरुले देखाएको लालचमा नफस्नुहोला । ‘

राजनको फेसबुक पेज ह्याकमा संलग्न प्रमुख पाकिस्तानी व्यक्तिको प्रोफाइल ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com