‘सबै परिवार नेपालमा छ तर पनि अमेरिकामा एक्लो नठानी लडेर कोरोनालाई जीतें’


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

– किशोर पन्थी

कोरोनाको संक्रमणका कारण झण्डै एकसाता अगाडि न्युजर्सीको बेशोर अस्पतालमा भर्ना भएका थिए बाग्लुङका ५० बर्षका टिकाराम उपाध्याय । झण्डै एकसाता अस्पतालमा भर्ना भएका उनी हिजो बेलुका अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि उनले भने – ‘सबै परिवार नेपालमा छ । तर पनि आफूलाई अमेरिकामा एक्लो छु भनेर कहिलेपनि मनोबल कमजोर हुन दिइन । कोरोनाबिरुद्ध लडेर अहिले सकुशल फर्केको छु ।’

मार्चको अन्तिम साता सामान्य खोकी लाग्ने भइरहेको थियो उनलाई । तर आफूलाई कोरोनाकै संक्रमण भएहोला भन्ने सोंचेनन् उनले । खोकी लाग्दा र घाटी दुख्दा आफै तातो पानी तताएर खाए । स्टोरबाट टाइलोनोल लगायतका औषधी निकालेर खाए । तर निको भने भएन ।

मार्च ३० को राती काम गरेर मार्च ३१ को विहान कोठामा आएर सुतेका उनलाई अचानक हनहनी ज्वरो आयो । ज्वरो यति आयो कि उनी सुतेको सबै कपडा पसिनाले भिजेको थियो । कतिवबेला जाडो हुने त कतिबेला गर्मी हुने भइरहेको थियो ।

तर पनि उनी बेलुका भने काममा गए । काममा गएको बेला एकदमै ढाडदुख्यो र हातखुट्टाका जोर्नी पनि असाध्यै दुखे । उनले टाइलोनोल खाए तर दुख्न छाडेन । उनी भन्छन् – ‘कोरोनाको संक्रमण भएपछि त अचम्मै हुने रहेछ, ढाड दुखेर अडिनै नसक्ने भयो । मलाई अहिलेसम्म कहिलेपनि त्यसरी दुखेको थिएन । तर यसपटक त सहनै नसक्नेगरी दुख्यो ।’

त्यसपछि उनले आफ्नो स्वास्थ्यबारे सँगै काम गर्ने अरु नेपालीहरुलाई जानकारी दिए । र, अस्पताल लगेर छाडिदिन अनुरोध गरे । सँगै काम गर्ने अरु नेपालीहरुले उनलाई गाडीमा राखेर अस्पतालको इमर्जेन्सीमा लगे । अस्पतालको इमर्जेन्सीमा गएपछि कोरोना परीक्षणका लागि उनको नाक र मुखबाट स्वाब लिइयो । र, उनलाई अस्पतालमा भर्ना गरियो ।

टिकाराम उपाध्याय

अप्रिल १ मा अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षणको रिपोर्ट अप्रिल ३ मा आयो । रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा उनी निकै आत्तिए तर अस्पतालले गरेको सहयोगका कारण उनले मनोबल उच्च बनाए ।

उनलाई विभिन्न औषधीहरु चलाएपछि ज्वरो हट्यो । खोकी लागेको अवस्थामा उनलाई खोकीको औषधी दिइएको थियो । यसरी उनलाई झण्डै एकसाता अस्पतालमा भर्ना गरेर उपचार गरियो । उपचार भइरहेको अवस्थामा रगत जाँच गरेर हिजो त्यसको रिपोर्ट आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि कता जाने भन्नेमा अन्यौल थियो । किनभने उनी अरु तीनजना नेपालीसँग मिलेर बस्दै आएका थिए । तर काम गर्ने स्थानका साहुले अर्को एउटा स्थानमा बसिरहेका २ नेपालीहरुलाई सारेर टिकारामका लागि छुट्टै बस्ने बन्दोबस्त गरिदिए । त्यसपछि अस्पतालकै गाडीमा उनी उक्त स्थानमा गएर अहिले आइसोलेसनमा बसिरहेका छन् ।

‘यस्तो बेलामा परिवारको अभाव त महसुस हुने रहेछ । तर पनि सबैको सहयोगका कारण आफुलाई एक्लो महसुस गर्नुपरेन । कोरोना संक्रमण भएपछि नेपालमा रहेका परिवार असाध्यै आत्तिए । तर मैले अस्पतालबाट पनि नियमित फोन र भिडियोमा कुराकानी गरेर नआत्तिन भनें । परिवारले पनि फोन र भिडियो च्याटबाट ढाडस दिइरहेका थिए ।’ –  उनले भने ।

कोठामा आइसकेपछि एक्लै भएकाले उनले आफै पकाएर खाए । ‘कोठामा आइसकेपछि भात पकाएर खाएँ । विहान चनाको दाल पकाएर खाएँ । तातोपानी र औषधीहरु खाइरहेको छु । अहिले निको भइरहेको अनुभव भइरहेको छ ।’ –  ११ बर्षदेखि अमेरिकामा बस्दै आएका उनले भने ।

उनी अबको झण्डै एकसाता आइसोलेसनमा बस्ने बताएका छन् । उनी भन्छत् – ‘ठीक समयमा अस्पताल गयो भने आत्तिनु नपर्ने रहेछ ।’

उनीसँगै कोठामा बस्ने अरु कसैलाई पनि अहिलेसम्म लक्षण देखिएको छैन । अस्पतालले सँगै बस्ने अरुको पनि कोरोना परिक्षण गर्नुभएको बताएको थियो । तर अरुको कोरोना परिक्षण गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com