पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

– चन्द्रकला भण्डारी भद्रपुर, २६ कात्तिक (रासस) :
झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ ।

दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उहाँले बताउनुभयो ।
“अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले भन्नुभयो, “कृषि प्राविधिकलाई सोध्दा किरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ ।”

उहाँले वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के किराले सखाप पारेको बताउनुभयो । सोही कारण मेचीनगर–४ बाहुनडाँगी क्षेत्रका किसानले समेत धान खेतमा आगो लगाएका छन् ।

बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ र ३ का किसानको करिब १२ विघा जमीनमा लगाएको धान खेतमा आगो लगाइएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताउनुभयो । उहाँले फड्के किराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएको बताउनुभयो । उहाँका अनुसार क्षति हुने किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य गाउँपालिकाले गरिरहेको छ । उनीहरुलाई गाउँपालिकाले नै क्षतिपूर्ति भराउन नसके पनि प्रदेश सरकारसँग राहतका लागि पहल गर्ने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौरीगञ्ज गाउँपालिका–३ ठेकीटोलका किसानले लगाएको २० विघामा यो रोगको प्रकोप देखिएको छ । शुरुमा धानको फेदमा कालो देखिने र क्रमशः बोट नै मर्ने गरेको स्थानीय किसान महेन्द्र रिजालले बताउनुभयो । “पाकेको धान भित्र्याउन पाइएन”, उहाँले भन्नुभयो, “वर्षभरि के खाने भन्ने चिन्तासँगै परालसमेत काम नलाग्दा गाईवस्तुलाई के खुवाउने भन्ने पीर बढ्यो ।” भुसुना जस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाएको अर्का किसान नगेन्द्रप्रसाद गड्तौलाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी तथा प्राविधिक शेषराज पौडेलले मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ति र गौरीगञ्जमा विशेषगरी फड्के किराको प्रकोप देखिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाभरमा करिब सय विघा जमीनमा यो किराको प्रकोप देखिएको छ । समयमै किसानले थाहा नपाएको र औषधि गर्न नसक्दा यो रोगका कारण यति धेरै क्षति भएको उहाँको भनाइ छ ।

ज्ञान केन्द्रले क्षति पुगेको स्थानका किसानको तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहलाई अनुरोध गरेको बताउँदै उहाँले भन्नुभयो, “तथ्याङ्क आइसकेपछि राहतका लागि प्रदेश र केन्द सरकारसँग पहल गर्छौं ।”
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com