१० डलर तिरेर यसरी डिभी जस्तै अमेरिकी कामदार भिसाको आवेदन, आज औपचारिक सुचना


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम सुचना जारी गर्दै कामदार भिसा एचवानबीका लागि आवेदन दिन चाहने रोजगारदाताले सुरुमै अनलाइनमार्फत दर्ता गराउँदा १० डलर शुल्क तिर्नुपर्ने जनाएको छ । उक्त शुल्क बैंक एकाउण्ट, क्रेडिट वा डेविट कार्डमार्फत तिर्न सकिनेछ ।

यसबारे आज फेडरल रजिस्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गरिएको छ । यो नयाँ नियम भने डिसेम्बर ९ देखि लागु हुने युएससीआईएसले जनाएको छ । अन्तिम सुचना प्रकाशित गर्नु अगाडि युएससीआईएसले गत सेप्टेम्बर ४ मा सार्वजनिक कमेन्टको आव्हान गर्दै ३० दिने सुचना जारी गरेको थियो । त्यसमा जम्मा २२ वटा कमेन्टहरुमात्र प्राप्त भएका थिए ।

 

बार्षिक ६५ हजारको कोटा रहने उक्त कामदार भिसाका लागि अबदेखि रोजगारदाताले प्रारम्भिक आवेदनको साटो १० डलर शुल्क तिरेर विद्युतीय रुपमा दर्ता गराउनुपर्नेछ ।

दर्ताको मिति सुरु हुनुभन्दा कम्तीमा ३० दिन अगाडि यसबारे सुचित गरिने युएससीआईएसले जनाएको छ । विद्युतीय प्रणालीबाट गरिएका दर्तालाई युएससीआईएसले चिठ्ठाको माध्यमबाट छनौट गरेपछि हरेक आवेदनबारे प्रकृया अगाडि बढाउन सकिनेछ ।

 

प्राप्त आवेदनहरुबाट छनौट गर्नका लागि युएससीआईएसको साधनश्रोत र जनशक्ति खर्च हुने तथा युएससीआईएस आवेदकबाट प्राप्त शुल्कबाटै चल्ने भएकाले अनलाइन दर्ताको समेत शुल्क प्रस्ताव गरिएको हो । छनौट भएका आवेदनहरुको थप प्रकृयाका लागि भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

गत जनवरी ३१ मा युएससीआईएसले अन्तिम नियम प्रकाशित गर्दै एचवान बी भिसाका प्रकृया र नियममा परिवर्तन गरेको थियो । विद्युतीय रुपमा अनलाइनमार्फत कामदार भिसाका लागि आवेदन दिने मिति युएससीआईएसले घोषणा गर्नेछ ।

 

 

अमेरिकी सरकारले यसैबर्षदेखि कामदारभिसा एचवानबीमा ब्यापक परिवर्तन गरेको छ । जस अनुशार अमेरिकी डिग्री होल्डरलाई अमेरिकी डिग्री होल्डरबाहेकको कोटामा पनि समावेश हुने अवशर दिइएको छ ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर यो बर्षदेखि त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाएका छन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com