आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकामा आप्रवासीलाई निशानामा पार्न ठगहरुले गर्दै आएका फोनमा फोन कल प्राप्त गर्ने व्यक्तिको मोबाइलमा होमल्याण्ड सेक्युरिटीकै नम्बर देखिनेगरी ठगहरुले कम्प्युटर प्रणालीमा मिलाएको अमेरिकी सरकारले जनाएको छ । कलर आइडीमा होमल्याण्ड सेक्युरिटीका नम्बर देखिदैमा त्यस्तो फोन सरकारी निकायबाट आएको नहुने र ठगहरुले भ्रममा पार्न सरकारी फोननम्बर देखिने प्रविधि मिलाएको भन्दै सचेत रहन चेतावनी दिइएको छ ।

ठगहरुले गर्ने त्यस्ता फोन नम्बरमा कल ब्याक गर्दा सरकारका निकायहरुमा नै पुग्ने भएकाले ठगहरुले आफूले सरकारी निकायबाटै फोन गरेको भन्दै विश्वस्त पार्न ठगीको नयाँ तरिका अपनाएका हुन् । होमल्याण्ड सेक्युरिटीका विभिन्न नम्बरहरु र अफिर अफ सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज लोकपाल शाखाको मुख्य नम्बर ठगले कलर आइडीमा देखिने गरि मिलाएको जनाइएको छ ।

सरकारका २०२ ३५७ ८१०० र ८५५ ८८२ ८१०० लाई ठगहरुले फोन प्राप्त गर्ने व्यक्तिको कलर आइडीमा देखिनेगरी मिलाएको र उनीहरुले व्यक्तिका विभिन्न गोप्य विवरणहरु तथा रकम समेत माग्ने गरेको जनाइएको छ । अमेरिकामा सरकारी कार्यालयहरुले फोन मार्फत संवेदनशिल सुचना वा रकम नमाग्ने भएकाले त्यस्ता फोनकलबाट सचेत रहन चेतावनी दिइएको छ ।

अमेरिकामा युएससीआईएस वा आईआरएसका नाममा ठगहरुले गर्ने यस्ता फोनकलबाट कैयन नेपालीहरु समेत ठगिदै आएका छन् । देशनिकाला वा जेलको धम्की देखाउँदै ठगहरुले मोटो रकम समेत असुल्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com