१४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

सन् २००७ देखि यता अहिलेसम्मको गणना गर्दा झण्डै एक करोड डिभी लोटरीका आवेदनहरु नेपालबाटै परेका छन् । विगत ५ बर्षमा मात्र नेपालबाट ५० लाख डिभी लोटरीका आवेदन परेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।  जसमा पटकपटक डिभी भर्नेहरु समेत छन् ।

आर्थिक बर्ष २०२० का लागि झण्डै १० लाख नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए भने सन् २०१९ मा पनि १० लाख भन्दा धेरै नेपाली डिभी कार्यक्रममा सहभागी भए ।

आर्थिक बर्ष २०१८ को डिभी लोटरीमा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । २०१७ को डिभी लोटरीमा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए ।

सन् २०१६ को डिभी कार्यक्रममा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

त्यस्तै आर्थिक बर्ष सन् २०१५ को डिभी लोटरी कार्यक्रमका लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए ।

त्यसैगरी सन् २०१४ को डिभी कार्यक्रमका लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने सन् २०१३ को डिभी कार्यक्रममा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com