एसाइलमको अदालती फैसला १० दिनमै दिने कार्यक्रम लागु गर्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने कागजपत्रविहिनहरुको एसाइलमको फैसला १० दिनभित्रै गर्ने गरी ट्रम्प प्रशासनले वृहत योजना लागु गर्ने भएको छ । ट्रम्प प्रशासनले तीब्र गतिको एसाइलम आवेदनको फैसलाको परिक्षण सुरु गरेको छ ।

विगतमा मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिनहरुको एसाइलम फैसला गर्न महिनौं र बर्षौ समेत लगाइदै आएको छ । जसबाट आप्रवासीहरु अमेरिकामा बण्डमा छुटेर काम गर्दै अदालतमा मुद्दाको प्रकृया अगाडि बढाउदै आएका थिए ।

तर अब आप्रवासीलाई हिराशतमै राखिएको बखत १० दिनमै फैसला दिनेगरी परिक्षण सुरु गरिएको छ ।

एल पासो क्षेत्रमा पक्राउ परेका आप्रवासीहरुलाई सिमा सुरक्षा गस्तीको १५ सय बेडको हिराशतमा राख्न थालिएको छ । अगस्तमा स्थापना गरिएको उक्त हिराशतमा कैयन बेडहरु खाली नै रहेका छन् ।

नयाँ पाइलट कार्यक्रम अन्तरगत अब एसाइलम आवेदकका सन्दर्भमा कानुन व्यवसायीहरुले खास भूमिका निभाउन सक्नेछैनन् । कानुन व्यवसायीहरुलाई उनीहरुका ग्राहकलाई सिमा गस्तीका स्टेशनमा भेट्न अनुमति दिइएको छैन । केबल फोनबाट छोटो कुराकानीमात्र गर्न दिइनेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसबीचको संयुक्त प्रयासका रुपमा नयाँ कार्यक्रम लागु गरिएको हो । यसअगाडि एसाइलमलाई निरुत्साहित गर्न सिमाक्षेत्रमा एसाइलम गर्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने र मेक्सिको आउने क्रममा बाटोमा एसाइलम आवेदन दिएर अस्वीकृत नभएकालाई अमेरिकामा एसाइलम आवेदनका लागि अयोग्य ठहर गर्ने नियम लागु गरिसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com