नेपालीको भिजिटर भिसा आवदेनबाटमात्र अमेरिकी दूतावासलाई एकबर्षमा ६० करोड आम्दानी


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

नेपालीको भिजिटर भिसा आवदेनबाटमात्र अमेरिकी दूतावासलाई एकबर्षमा ६० करोड नेपाली रुपैया आम्दानी भएको देखिएको छ । आर्थिकबर्ष २०१९ मा झण्डै ३५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा आवेदन शुल्कबाटमात्र अमेरिकी दूतावासलाई कम्तीमा ६० करोड नेपाली रुपैया आम्दानी भएको छ ।

अमेरिकाको भिजिटर भिसाका लागि दूतावासलाई १६० डलर शुल्क बुझाउनुपर्छ । आर्थिक बर्ष सन् २०१९ मा १७ हजार १ सय ५९ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर भिसा पाएका थिए । जुन गतबर्षको तुलनामा बढी हो । गत आर्थिक बर्ष २०१८ मा १६१७० जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर भिसा प्राप्त गरेका थिए ।

ठूलो संख्यामा नेपालीहरुले भिजिटर भिसाको आवेदन दिने भएकाले रिजेक्ट हुने भिसाको सख्या पनि उल्लेख्य रहेको छ । तर २०१८ को तथ्यांक हेर्दा आवेदकमध्ये ४८ दशमलव ४७ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । गत बर्ष झण्डै १७ हजार नेपालीहरुको भिजिटिर भिसा अस्वीकृत भएको थियो । सन् २०१२ पछिको तथ्यांक हेर्दा औषतमा ५० प्रतिशत नेपाली आवेदकले अमेरिकाको भिजिटर भिसा प्राप्त गर्दै आएका छन् ।

आर्थिक बर्ष २०१९ को सेप्टेम्बरमा १२४९, अगस्तमा १३८४, जुलाईमा १५०७, जुनमा १६०१, मेमा २११९, अप्रिलमा २२१७, मार्चमा १६०६, फरबरीमा १०७५ र जनवरीमा १०३७ मा जना नेपालीहरुले अमेरिकाका भिजिटर भिसा पाएका थिए । आर्थिक बर्ष २०१९ को पहिलो तीन महिना अर्थात् सन् २०१८ को डिसेम्बरमा ११७२, नोभेम्बरमा १०७६ र अक्टोबरमा १११६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

आर्थिक बर्ष २०११ मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५९ दशमलव ९ प्रतिशत थियो । त्यस्तै सन् २०१० मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५८ दशमलव ३ थियो । सन् २००९ मा ५९ दशमलव १, सन् २००८ मा ५१ दशमलव २, सन् २००७ मा ५५ दशमलव १ र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत रहेको थियो ।

तर सन् २०१२ र त्यसपछिका बर्षहरुमा नेपालीहरुको भिसा अस्वीकृत प्रतिशत स्वीकृत प्रतिशतको तुलनामा कम थियो । अर्थात् कुल आवेदकमध्ये ५० प्रतिशतभन्दा धेरै नेपालीहरुले नै अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । तर सन् २०१८ मा आएर भिजिटर भिसा पाउने नेपालीको प्रतिशतको तुलनामा नपाउनेहरुको प्रतिशत र संख्या धेरै भएको छ ।

सन् २०१२ मा ४९ दशमलव ४, सन् २०१३ मा ४६ दशमलव ४, सन् २०१४ मा ३८ दशमलव २, सन् २०१५ मा ४२ दशमलव १९, सन् २०१६ मा ४९ दशमलव ५४ र सन् २०१७ मा ४६ दशमलव ४२ प्रतिशत कुल भिजिटर भिसाका आवेदक नेपालीको भिसा अस्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com