अमेरिकाको गुम्बामा बुद्ध भारतमा जन्मेको प्रचार, पन्तसहितले त्यही पुगेर गरे सच्याउन आग्रह


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

अमेरिकाको एउटा बुद्धमन्दिरले गौतम बुद्ध भारतमा जन्मिरहेको गलत प्रचारवाजी गरिरहेको भेटिएपछि अमेरिका भ्रमणमा रहेका भैरहवाका पत्रकार चेतन पन्त त्यही पुगेर त्यसलाई सच्याउन आग्रह गरेका छन् । क्यालिफोर्नियाको युकियामा रहेको टेन थाउजेण्ड नामको बुद्धमन्दिरको संग्रहालयमा राखिएका विवरणहरुमा बुद्ध उत्तरी भारतमा जन्मेको उल्लेख गरिएको थियो ।

बुद्ध नेपाल पिस फाउण्डेशनसँगको सहकार्यमा गएको टोलीले बुद्धमन्दिरलाई गलत विवरण सच्याउन आग्रह गर्नुका साथै मायादेवी मन्दिरको पोष्टर र लुम्बिनीको महत्वबारे उल्लेख गरिएको पुस्तक समेत हस्तान्तरण गरेको छ । बुद्धमन्दिरका प्रशासक जोन चिउले बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएको विवरण सच्याउन आफूले समितिमा कुरा राख्ने बताएका छन् ।

१० हज़ार ससाना बुद्धमूर्ति राखिएको उक्त बुद्धमन्दिर सन् १९७६ देखि संचालित छ । यहाँ दैनिक सयौ पर्यटकहरु आउने गर्छन् । मन्दिरका प्रशासक जोन चिउले आफूहरुले अन्य मन्दिरमा लेखिएको आधारमा बुद्ध उत्तरी भारतमा जन्मेको कुरा उल्लेख गरेको बताएका छन् । उनले मायादेवी मन्दिरको तस्वीर संग्रहालयमा राख्ने प्रतिबद्धता जनाएका छन् ।

संसारभरका कैयन बुद्ध मन्दिर र गुम्बामा गौतम बुद्धको जन्मस्थलबारे भ्रमित पार्ने विवरणहरु राखिएकाले त्यसलाई सच्याउन पहल गर्नुपर्ने संस्थाका अध्यष चिनकाजी र सल्लाहकार डाक्टर टिका लम्साले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com