गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उहाँले बताउनुभयो । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उहाँका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com