बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।

चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, बरालले भन्नुभयो, “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौ ।”

बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु दश लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com