शाहीले किटानी जाहेरी नदिएपनि प्रहरीले अनुसन्धान गर्नुपर्छ : महासचिव पौडेल
प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार
नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताउनुभएको छ । पौडेलले उक्त घट्नाबारे पहिलो सूचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाउनुभयो । तर, अहिले अनुसन्धानलाई अन्तै मोड्न खोजिएको पनि उहाँको आशंका छ ।
पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिने गरी बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाउनुभयो । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाइल’ नहुने पौडेलको भनाइ छ ।
शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उहाँको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले ‘महरा पितासरहको मान्छे’ भन्नुको अर्थ नभएको पनि उहाँको टिप्पणी छ ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उहाँले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ्क र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’
आयोजित उक्त साक्षात्कारमा बोल्दै उहाँले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’ रोशनी शाहीको अभिव्यक्ति पनि फरक–फरक आएकाले जबरजस्ती करणी भएको हो कि होइन भन्ने कुरा अनुसन्धान हुुनुपर्ने बताउनुभयो । राजीनामा कहिलेपनि शर्तसहित नहुने भन्दै उहाँले राजीनामा सर्तरहित हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘बलात्कार भएको हो कि होइन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान (प्रहरी) को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् ।’ पौडेलले आरोपको स्टेटमेन्ट बदलियो भने शाहीपनि दोषी हुने टिप्पणी गर्नुभयो ।









