स्वदेश फर्कने नेपालीलाई सीमामा दुःखै दुःख


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

–काशीराम शर्मा /भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले जमुनाहामा भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भन्नुभयो, “यसअघि धेरै पटक सम्झाइबुझाइ गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुप¥यो । होटल व्यवसायीले एजेन्ट राखेर दशैँ मनाउन भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि आज बिहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौँ ।”

उहाँका अनुसार चाडपर्वका बेला नेपालगञ्जका होटल व्यवसायीले एजेन्ट राखेरै सीमामा नेपालीलाई दुःख दिने गरेका छन् । यहाँका होटलले कमिशनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीलाई दुःख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाबिहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ ।

आफ्नो होटलसम्म पु-याउनका लागि विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्दै आजित बनाउने गरेका छन् । भारतबाट फर्किदै गरेका भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका वीरेन्द्र बिसीले भन्नुभयो, “हामीलाई कहाँ जाने भन्ने छँदैछ, तै पनि होटलवालाले तानेर सताउँछन् ।”

प्रहरी नायब निरीक्षक रिजालले भन्नुभयो, “भारतबाट मजदूरी गर्ने नेपाली फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।” भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको छ । “हामीले पटकपटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर कारवाही गर्नुपरेको छ ।” चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमिमै यहाँका होटलवालाले थप दुःख दिने गरेको भारतबाट फर्किदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारत सीमा नाका जमुनाहामा भने भारतबाट मजदूरी गरेर फर्किदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीबाट पीडित छन् ।”

यतिबेला दैनिक करीब ५०० नेपाली भारतबाट दशैँ मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी सङ्घ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।

यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँले यस विषयमा सङ्घ गम्भीर रहेको बताउँदै भन्नुभयो, “यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन ।”

जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकालाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो । “नियन्त्रणमा लिएकालाई सम्झाइबुझाइ गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता गर्न लगाएर साझा मात्रै छाड्छौँ”, उहाँले भन्नुभयो ।

चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् । “यसलाई रोक्न हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौँ । चाडपर्वका बेला कोही पीडित हुन नपरोस् भन्नेमा हामी सचेत र संवेदनशील छौँ”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो । भारतमा काम गरेर चाडपर्व मनाउन घर फर्किने नेपालीलाई नाकामा समस्या नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताउँदै प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नदिएको पनि बताउनुभयो । चाडबाडमा विशेष गरेर बैंक तथा वित्तीय संस्था आसपास, भारतबाट मजदूरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com