प्रवासीलाई लगानी भित्र्याउन आग्रह


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।

“स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भन्नुभयो, “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधिलाई स्वदेशमा भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्नुहोस ।” उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको मन्त्री थापाको भनाइ थियो । पूर्वाधार तयार र लगानीको सुरक्षा गर्न सरकार सक्षम भएको बताउनुभयो ।

जिल्लाको जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न प्रशस्त सम्भावना भएको उहाँले बताउनुभयो । सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर कामको खोजीमा विदेशिनुपर्ने बाध्यता हटाउन प्रधानमन्त्री रोजगारलाई निरन्तरता दिएको र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन खोजेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काङ्ग्रेसका सभापति खम्बिर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सम्भावनाको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

मोना रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था हो । तीन दिनसम्म चल्ने महाधिवेशनमा २० देशका डेढ सय प्रतिनिधि सहभागी भएका मोनाका अध्यक्ष चक्र थापाले बताउनुभयो ।

यसैगरी विसं २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई मोना जापानले रु दुई लाख आर्थिक सहयोग गरेको छ । मोनामार्फत जिल्लाको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा बेनीदेखि मायालुडाँडा जोड्ने पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि रु एक करोडको कोष स्थापना गर्न अभियान चलाइएको छ । साथै ग्रामीण क्षेत्रका ४५ सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणसमेत शुरु गरिएको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com