नेपालका उपभोक्ता भारतीय बजारमा


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

– भेषराज बस्नेत

नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउनुहुन्छ ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडियामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”, अध्यक्ष उहाँले भन्नुभयो, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक छ ।”

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडियामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । हिन्दूहरूको मुख्य पर्व दशैं शुरू भए पनि नेपालगञ्ज बजार सुनसान छ । तर, सीमा पारी भारतीय बजार रुपैडियामा दशैंँको किनमेल गर्न नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयवासी सीमावर्ती बजारतिर जाने गरेका छन् । चाडवाडका समयमा कालोबजारी, चर्को महङ््गी, अनियन्त्रित मूल्य र गुणस्तरहीन उपभोग्य सामग्री बिक्री हुने क्रम निरन्तर बढेपछि उपभोक्ता सीमापारिका भारतीय बजारप्रति आकर्षित हुने गरेका छन् ।

“न मूल्यको ठेगान हुन्छ न उचित सामानको” सीमावर्ती बजारमा किनमेल गर्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१० का किशोर श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ, सामान पनि गुणस्तरहीन हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारप्रति आकर्षित भएका हुन् ।” चाडवाडका समयमा वर्षभरि बिक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने व्यवसायीको क्रियाकलापले सीमापारिको रुपैडिया बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण भएको उहाँको भनाइ छ । खासगरी चामल, तेल, चिनी, दाल, फलफूल, पेयपदार्थ, सौन्दर्यका सामाग्री र अन्य विभिन्न किसिमका पूजा सामग्रीसँगै घर सजाउने सामान खरीद गर्न नेपाली उपभोक्ता रुपैडिहा पुग्ने गर्दछन् ।

नेपाली उपभोक्ताको भरमा रुपैडिया बजार चलेको त्यहाँका पत्रकार सन्तोष शुक्ला बताउनुहुन्छ । उहाँका अनुसार, अधिकांश नेपाली उपभोक्ता हुनेभएकाले यहाँ नेपाली रुपैयामा समेत कारोवार हुने गरेको छ । व्यापारीले पसलमा कामगर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् । “दशैंँमा मात्रै होइन सधैँभरी रुपैडिहा जाने चलन छ”, सदरलाइनमा जुत्ताचप्पलको व्यापार गर्दै आउनुभएकी मीरा सिलवालले भन्नुभयो, “रुपैडिहाका पसलमा नेपाली ग्राहकले खुट्टा राख्ने ठाउँ हुँदैन हामी यहाँ सुनसान बस्नुपर्छ ।”

दशैंँको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । नेपालगञ्जमात्र नभइ बाँकेका ग्रामीण क्षेत्र र सुर्खेत, दैलेख, जाजरकोट, दाङलगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । नेपालतिरको तुलनामा सीमावर्ती बजारमा मालसामान सस्तो पाइने भएकाले पनि अधिकांश त्यहीँ पुग्दछन् । चिनी, तेल, आलु तथा प्याजमा प्रतिकिलोमा १५ देखि ५० रुपैयाँसम्म सस्तोमा पाइने गरेको दशैंँका लागि सामान किन्न रुपैडिया पुग्नुभएकी खजुरा गाउँपालिका– २ सीतापुरकी चित्रा थापाले बताउनुभयो ।

नेपालगञ्ज भन्सारमा भेटिएका कोहलपुर नगरपालिका –८ पिपरीका मोहन खड्काले नेपाली बजारमा अत्यन्त चर्को मूल्यका कारण सीमापारि जान बाध्य भएको गुनासो गर्नुभयो । स्थानीय मङ्गलीमाया श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीले पसलैपिच्छे फरकफरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । सङ्घका अहिलेका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “हामी सङ्घका तर्फबाट धेरै नै प्रयास गरेका छौं, हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।”

वाणिज्य सङ्घको तथ्याङ्क अनुसार, भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब रु पाँच करोड बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् । गतवर्ष दशैँमा रुपैडिया किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्न वाणिज्य सङ्घलगायत विभिन्न वस्तुगत सङ्घहरुले दशैं सस्तो बजार सञ्चालन गरे पनि सोंचे अनुसार सफल नभएको वितरक सङ्घका अध्यक्ष अमित बस्नेतले बताउनुभयो ।

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडियातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताउनुभयो । उहाँका अनुसार दैनिक करीब दुई÷तीन सय नेपाली उपभोक्ता किनमेलका लागि रुपैडिया जाने गरेका छन् ।

त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल कदमीको खाँचो देखिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com