बैंक र रेमिट ह्याक प्रकरण ः थप तीन आरोपी पक्राउ


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई आज पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो ।

बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । बिहीबार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । भुसालको बैंक खातामा रु ६५ लाख जम्मा भएको पाइएको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् ।

प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com