साईंली, तम्घासैमा बस


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

-जीतेन्द्र जीसी

“आमा रुँदै गाउ बेशी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा”

गीत बजी रहेको थियो । कत्रो थिएँ, ठ्याक्कै याद छैन । हजुरबासँग सुतेको थिएँ, यो चाही याद छ । ती शब्दहरु नयाँ थिए, मलाई । आमा यानी ठूला मान्छे रुने, रेल अनि सायद गोरखपुर । यी सबै नयाँ कुरा थिए, मेरो बालो मनलाई ।

खुब सोधें बालाई । पालै पालो जवाफ पाएँ । यकिन थाहा छैन तर रेल चढ्ने रहर जागेको हुनु पर्छ, त्यत्तीबेलै । पछि भारतवाट फर्कने लाहुरेसँग रेल कस्तो हुन्छ ? भनेर सोधेको छु, त्यो याद छ ।

अब, स्कुल जान थालेपछि चिठ्ठी लेखाउन र पढाउन आउने प्रसस्तै भए, छिमेकीहरु । मैले जानेको थिएँ वा थिईन, त्यो कसैलाई मतलब थिएन क्यार । बस, आउँथे । अहिलेको गन्तब्य खाडी भए झै पहिला लाहुर थियो । अहिलेको पुस्तालाई यो कुरा अपत्यारिलो लाग्न पनि सक्छ ।

चिसोले लुग लुग काप्दै घर पुगेको थिएँ, एक साँझ ।

कमिज थियो । बाहुलामा कट्कटिएको सिङ्गान पनि । अचेलको जस्तै मौसम थियो, सिरेटो । सिरेटोले धकेल्दै, अगेनोको वरिपरी नै आशन ग्रहण गराउँथ्यो । अझै पारीपट्टीवाट ङिच्च गरेको सुन्दर धवालागिरिको सेतो दाँतबाट निस्कने चिसोले मुटु नै डग्मगाइ दिन्छ ।

कक्षा ४ मा पढ्थें होला ।

पल्टनमा भएका लोग्नेलाई चिठ्ठी लेखाउन, एक जना छिमेकी आइन् । घरमा बस्न मानिनन् । चकलेट दिंदै गोठ तिर जाम् भनिन् । गएँ । चिठ्ठीका बेहोरा पछि गीत लेख्न पो भनिन् । सङ्कोच अनि लाज लागेको थियो मलाई ।

चिठ्ठीमा पनि भाका मिलाएर लेख्नु पर्ने रे । झ्वाँक चलेकै हो । तर चकलेटले पहिल्यै पगाली सकेको थियो । नबोली नबोली जे भनिन् त्यही त्यही लेखें । त्यो मैले लेखेको पहिलो गीत होला । याद छ । डिक्टेट गर्न उतै सिकेको ।

‘सम्झी ल्याउदा मन आउछ जलाई
तीन्टा औठी एउटा चाही देउ मलाई’

गीत पछी उनले बिनती गरिन्, – ‘बालाई गीत लेखाएको न भन्नु ।’

मुन्टो हल्लाउदै फेरी अगेनो तिर लागें ।

विस्तारै समयसँगै गीत सुन्ने बानी परेछ । उहीलेदेखि अहिलेसम्म खुबै सुन्छु लोक दोहोरी । घरमा रेडियो भएकोले यो गीत सुन्ने मौका खुबै मिल्यो । अनि रेडियोमा उदाए गायक बम बहादुर कार्की । मैले त चिन्दिनथें । मावली, गुल्मेली अनि रेडियोमा उहाँको एकछत्र जस्तै गीत बज्ने ।

बस यौटा जिज्ञासा थियो बासँग -‘बा यति सानो रेडियो भित्र कसरी पसेर गाए ?’ घरमा कोही नभएको बेला रेडियो खोलेर हेरेको छु । मान्छे थिएनन्, साङ्ला थिए ।

बम बहादुर कार्कीको यो गीत अहिले सुने झै लाग्छ ।

‘अमेली को रस
तानसेन मा बिजुली
तम्घासैमा बस’

अहिले सोँच्छु, त्यो सिर्फ गीत थिएन । सन्देश थियो । तानसेनमा बिजुली र तम्घासमा बस पुगेको थियो । या, पुगेको पहिल्यै थियो । गीत पछि बनेको पनि होला । अब तम्घासमा पुगेको बस हेर्ने जिद्दी शुरु भो मेरो ।

हेरियो पनि ।
अहिलेको काठमाण्डौलाई माथ गर्दै उडेको त्यो धुलो र बसको हर्न, मेरो दिमागमा सधै ताजा छ ।

++++++++++++++++++++++

भारत पाकिस्तान को कार्गिल लडाँईमा पनि नेपाली योद्धा लडेकै हुन् । एक पटकको एउटा गीत याद छ । नारायण रायमाझीको गीत हुनुपर्छ । थुप्रै साथीहरु भागेर भारततीर पसेका थिए त्यो बेला । ती कसैको तस्विर थियो मेरो मस्तिस्कमा । अनि यी शब्दले दिमागमा डेरा गरेका छन्, अझै ताजै बनेर ।

‘सम्झी सम्झी नरोउ है आमा
तिम्रो छोरो लड्दै छ रनमा

अर्कैलाई मार्ने अनि बचेसम्म लड्ने
बाँचे घर फर्की जाने मरे यतै सड्ने’

गीत त्यही माध्यम हो जो मनोरञ्जनको शैलिमा सन्देश र शिक्षित गर्छ । बलिदानको यो गीत त्यही भन्छ ।

‘गाँउ गाँउबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ’

शाशन र सञ्चालक फेरिए । अनुभूती फेर्न र परिवर्तनको आभास दिन यो राजनिती असफल भै रहेको छ । मुलुक बिखण्डनको डिलमा छ । सम्मान, मान र इज्जतको खडेरी छ । आफ्नासँग झुक्न, मान्नभन्दा फुटाएर प्रभुत्व कायम गर्न खोज्नेसँग नेतृत्व लम्पसार परिरहेको छ । एकतामा बाँधिएको मुलुक फोर्छु भन्नेहरु हिरो बनाइदै छन् ।

हाम्रो गास काँचै देख्न चाहनेहरु प्रभुको दर्जामा छन् । मुलुक बनाउने युवाशक्ति अरबमा पसिना बनेर बग्दै र स्खलीत हुँदैछ । हाम्रो बिधी र बिधानमा खोट लगाउदै दुनिया गुहार्नेहरु फूल माला लगाउदै ज्वाईवाला सत्कार बटुल्दैछन् । त्यसैले एकजना गायक जीवन शर्माले मुलुकको एकताको खाँचो देखे, यसरी ।

‘देशै जान थाल्यो टुक्रा टुक्रा परेर
उठ जनता सारा हातेमालो गरेर’

यो सबैको कारक राजनीति हो । बनाउने पनि राजनिती नै हो । परिचालक अशल भएनन् । सबैतिर दलाली व्यप्त भयो ।

संसार समृद्धिको कुरा गर्छ । विश्वव्यापीकरणले ग्लोब एउटै घर जस्तो हुन लागिसक्दा हामी एउटा चुनाब गर्न सक्दैनौ । गणतन्त्रको बिगुल फुक्न छोड्दैनौ । विकासका एजेण्डा छैनन् या व्यक्ति विकास मात्रै एजेण्डा हो बुझ्नै मुस्किल छ ।

दुनिँया दिगो विकासको गीत गाउँछ । पर्यावरण बचाउने नारा लगाउँछ । यहाँ गलत गर्न पाउँ भन्ने नारा लाग्छ ।
त्यसैले त हेमन्त रानाहरु यहाँ विकासको होईन पीडाका गीत गाउँछन् ।
यो नेतृत्व यो गीत लेखाउँदै छ । अनि हिट बनाउँदै छ ।

‘सुन साईली साईली
प्रदेश बाट म आउँला
चालिस कटेसी रमाउँला

सुन साईली साईली
दियोमा तेलै हुरुरु
सम्झी कहिले नरुनु’

आशा गरौ, कि हाम्रो नेतृत्वले अब फेरी तपाइ हामीलाई हामीले चुनेको, छानेको नेतृत्व गलत थियो, सच्च्याउ भन्ने कार्खा गाउन बाध्य नपारोस् । समृद्धिका शब्द लेख्न पाइयोस् । साईला साईलीको जोडी हाँसेको कुरा लेख्न पाइयोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com