उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन :सञ्चारमन्त्री


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति ९रासस० को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उहाँले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताउनुभयो ।

सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भन्नुभयो, “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।”
उहाँले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिनुभयो ।
सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्राष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिनुभयो । पोखरेल पूर्वराससकर्मी पनि हुनुहुन्छ ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिनुभयो । सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले रासस नेपाली पत्रकारिताको जग र विश्वविद्यालय हो भन्दै यसको विकल्पमा अर्को कुनै संस्था देखा नपर्नुले राससले आफूलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिनुभयो । उहाँले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्ने विकृति देखिएको समयमा जिम्मेवार मिडिया संस्थाको अगुवाइ राससले गर्न सकोस् भन्ने कामना गर्नुभयो ।
रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससलाई आत्मनिर्भर बनाई नयाँ शैलीका समाचार प्रस्तुत गर्न सकेमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी संस्थाको रुपान्तरण गर्न सकिने बताउनुभयो ।

राससका नायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले सूचना र निरन्तर शिक्षाका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै प्रतिलिपि अधिकार र बौद्धिक सम्पतिको अधिकारको उपभोग गर्न रासस अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै संस्थाको गुणस्तर सुधार र कर्मचारीको हक हितका विषयमा ध्यानाककर्षण गराउनुभएको थियो । समारोहको सञ्चालन राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गर्नुभएको थियो ।
राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com