अमेरिकामा आईआरएसका नाममा ठगको नयाँ जुक्ती, पठाउन थाले नक्कली पत्र
आईआरएसका नाममा अमेरिकामा ठगहरुको बिगबिगी रहेको सन्दर्भमा ठगहरुले शिकारको नयाँ जुक्ती निकालेका छन् । यसअगाडि ठगहरुले आईआरएसका नाममा फोन गरेर रकम माग्ने गरिरहेको सन्दर्भमा आईआरएसले फोन गरेर कहिले पनि रकम नमाग्ने भन्दै सचेत गराइरहदा ठगहरुले नक्कली पत्र नै पठाउन सुरु गरेका छन् ।
आईआरएसलाई तिर्न बाँकी उधारो वा लेभीका सन्दर्भमा ठगहरुले सक्कली जस्तै लाग्ने पत्रहरु पठाएर विश्वस्त पार्ने नयाँ तरिका अपनाइरहेको आईआरएसले जनाएको छ । ब्यूरो अफ ट्याक्स इन्फोर्समेन्टका नाममा त्यस्ता पत्रहरु पठाइएको जनाइएको छ । तर आईआरएसमा त्यस्तो कुनै ब्यूरो नरहेको आईआरएसले स्पष्ट पारेको छ ।
करदाताहरुले त्यस्ता नक्कलीपत्रहरु ल्गातार प्राप्त गरिरहेको गुनासो गरेका छन् । केही त्यस्ता नक्कली पत्रहरुमा तिर्न बाँकी कर वा जरिवानाका कारण करदाताका बिरुद्ध वारेन्ट जारी गरिएको भन्दै चेतावनी समेत दिने गरिएको छ । यदि करदाताले तुरुन्त रकम नतिरेमा पक्राउ गरिने भने ठगहरुलाई करदातालाई आतंकित समेत पारिरहेका छन् ।
कतिपय त्यस्ता नक्कलीपत्रहरुमा करदाताले आईआरएसलाई तिर्न बाँकी रहेको सक्कली रकम समेत उल्लेख गरिएको जनाइएको छ । त्यस्तो हुँदा करदाताहरु पत्रको आधिकारिताबारे अलमलिने गरेका छन् । कतिपय करदाताले आईआरएसलाई तिर्न बाँकी रहेको उधारो सार्वजनिक रुपमा समेत उपलब्ध हुने भएकाले ठगहरुले उक्त सार्वजनिक जानकारीलाई उपयोग गरिरहेका छन् । तर करदाताका एकदुईवटा जानकारी ठगहरुले थाहा पाउँदैमा आत्तिएर ठगलाई अरु जानकारी दिनेतर्फ सचेत आईआरएसले आग्रह गरेको छ ।
आईआरएसको पत्र सक्कली आईआरएसको भए नभएको जाँच्न केही टिप्सहरु समेत दिइएको छ । आईआरएसको पत्र सामान्यतया सरकारी खामबन्दीमा आउने गर्छ भने पत्रमा आईआरएसको छाप लगाइएको हुन्छ । आईआरएसको पत्रमा सुचना वा पत्र नम्बर समेत उल्लेख गरिएको हुन्छ । साथै कर बर्ष समेत उल्लेख गरिएको हुन्छ ।
त्यस्तै आईआरएसको सक्कली पत्रमा आईआरएसको सम्पर्क विवरण समेत उल्लेख गरिएको हुन्छ । सामान्यतया १ ८०० नम्बर पत्रको माथि उल्लेख गरिएको हुन्छ । यदि त्यहाँ त्यस्तो कुनै नम्बर उल्लेख नगरी व्यक्तिगत वा मोबाइल नम्बर जस्तो देखिने नम्बर उल्लेख गरिएको छ भने उक्त पत्र ठगहरुले पठाएका हुनसक्छन् ।
यदि पत्रमा सम्पर्क नम्बर छ, तर त्यसको आधिकारितामा तपाईलाई शंका छ भने तपाईले आईआरएसको फोन नम्बर १ ८०० ८२९ १०४० मा फोन गरेर पत्रको आधिकारिकताबारे बुझ्न सक्नुहुनेछ । सक्कली आईआरएसको पत्रमा करदाताको अधिकारबारे समेत उल्लेख गरिएको हुन्छ भने देशनिकाला वा पक्राउको चेतावनी दिइएको हुँदैन ।
सक्कलीपत्रमा आईआरएसलाई तिर्न बाँकी रकम कसरी तिर्ने भन्ने उल्लेख गरिएको हुन्छ । यदि युएस ट्रेजरी बाहेक अरुका नाममा चेक लेख्न, डेबिट वा क्रेडिट कार्डको जानकारी बुझाउन, आईट्युन वा गिफ्ट कार्डमार्फत रकम बुझाउन भनिएको छ भने त्यस्तो पत्र ठगले पठाएको बुझ्न जरुरी छ ।
पत्र बाहेक ठगहरुले फोनमार्फत रकम माग्ने कामलाई पनि जारी नै राखेका छन् । यदि आईआरएसबाट भन्दै कसैले फोन गरेमा कुराकानी नगरी तत्काल फोन राख्न सचेत गराइएको छ । यदि आईआरएसका नाममा रोबोटिक वा अन्य सन्देश प्राप्त भएको छ भने त्यो पनि ठगहरुकै काम भएको बुझ्नुपर्छ । शंकास्पद श्रोतबाट प्राप्त इमेलको लिंक नखोल्न र अनलाइन एकाउन्टमा बलियो पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ ।





