KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

बिन्दु परियार : जातीय समानताको बिन्दु खोज्दै ११ बर्षको उमेरदेखि बिद्रोह यात्रामा

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

अश्मीता खड्का

विभेदमा जकडिएको समाजलाई मानवताको सन्देश दिँदै गाउँघर  बस्ती—बस्ती डुल्दै हिड्ने बिन्दु परियार, सामाजिक अभियन्ता मात्र होईनन्, जातीय अहंकारबाद विरुद्ध आगो ओकल्ने एउटी लेखिका पनि हुन् ।
‘बिद्रोही केटी’ हुन् !

व्यक्तिगत चाहनाबाट कोसौँ टाढा रहेकी बिन्दुले जीवनका हरेकपल समाजसेवामा बिताउने निधो गरेर निस्कीएको पनि आज करिब १३ वर्ष भएछ ।

समुदायको अधिकार र न्यायको लागि सतिसाल बनेर उभिएकी उनी पनि जातिय बिभेदको जाँतोमा पिसिनु पिसिएकी ‘केटी’ हुन् ।

पटक—पटक अपमानित, अपहेलित हुनु, मानौ उनको दैनिकी थियो ।

‘सभ्य र ठूलो जात’ कहलिएकाहरुले, दुरव्यावहर गर्नु आफ्नो अधिाकार सम्झन्थे र सम्झिरहेका छन् ।

कुरा मामा घरको हो !

जातिय बिभेद बिरुद्धको पहिलो बिद्रोह गर्दा, उनी मात्र, ११ वर्षको थिईन् ।

मामा घरमा, खुशीले उछलकुँद गर्दै तलमाथि गरिरहेकी बालिकालाई धारामा लुगा धोईरहेका कथित उपल्लो जातका महिलाले सराप्नु सरापे ।

कारण, धोएका लुगा छोइयो रे !

मामाघरमा रमाईरहेकी बालिकाको खुशी छिनभरमा ति ठूला र सभ्य भनिएका महिलाले लुटी दिए ।

सानो हुँदा आफूमाथि भएको त्यो दुब्र्यबहार उनले अझै भूलेको छैनन् ।

घटना सुनाउँदै भनिन् “मामा घर गोरखाको फुजेल हो । म धेरैबेर खेलेपछि तिर्खा लाग्यो, नजिकैको धारामा पानी खान गएँ । धारामा महिलाहरु लुगा धोईरहनु भएको थियो । म पानी खान्छु है भन्दै गएँ । धारामा झुण्डाएको लुगा मुस्कीलले सारेर पानी के खाएको थिएँ, ‘दमिनीको छोरीले चिसो लुगा छोयो’ भन्दै लखेटे ! धारामा भएका जतिले एक मुख लगाएर सराप्नु सरापे !

निकै डर लाग्यो । दौडेर घरभित्र पसेँ । थर थर काँपेको थिएँ,घरको कुनामा लुकेर बसेँ ।

दुःख लाग्यो, रिस पनि उठ्यो !

रिसै रिसमा, गाली गर्ने महिलाको घरभित्र पस्ने सोचेँ !

दशैंको बेला थियो । सुन्तला घर छेउँको बोटमा लटरम्मै थिए । त्यही सुन्तला खाने निहुँ पारेर, गाली गर्नेको घरभित्र पस्ने सोच्दै लुकेको ठाउँबाट बाहिर निस्किएँ !

गाली गर्नेको आगनमा पुगेँ । घरमा बुढी आमा हुनुहुन्थ्यो । ‘हजुरआमा म सुन्तला खान्छु है, भन्दै घरभित्र चुलोमा पुगेर चिच्याउँदै बाहिर निस्कीएँ !

हजुरआमाले तथानाम गाली गर्न थाल्नुभयो । झनै डर लाग्यो !

ला ! अब के हुन्छ ?अर्को मनले सोचेँ – ‘गाली गर्नेका विरुद्ध बदला त लिएँ नि । बदला लिनुपर्छ भन्ने सोच कहाँबाट आयो थाहा छैन । मैले धेरै सोचेर, जानेर गरेको होइन, गाली खाएको रिसमा गरेको थिएँ ।”
उनीभित्र पलाएको बिद्रोही चेतनाले काम गरेको थियो । उनलाई बिद्रोही बनाउने तिनै सभ्य र भब्यहरुनै हुन् ।

जातिय विभेदका बारेमा ११ बर्षको नानीलाई धेरै थाहा हुने कुरा भएन । तर भित्र पस्दैमा के हुन्छ ? हामीलाई किन यस्तो ब्यावहार गरिन्छ ? हामी पनि त, मान्छे हो । यस्ता प्रश्नको जवाफ उनले खोजी रहेकी थिईन् ।

गाउँघरमा बुबाआमालाई कथित उपल्लो जातले गर्ने व्यवहार उनको आँखाबाट छिपेको थिएन । मन त उनको पनि दुखी हुन्थ्यो,तर ठूला मान्छेको अगाडि ती मासुमले टुलुटुल हेर्नु र सुन्नु बाहेक अरु विकल्प थिएन ।

यस्तै व्यावहारले बिन्दुलाई सानैदेखि बिद्रोही बनायो ।

‘हामी सानो जात’ बाहिर बस्नुपर्छ । आमाले बिन्दुलाई भन्ने कुरा यही थियो !

तर बिन्दुलाई आमाको जबाफ चित्त बुझ्दैनथ्यो ।

किन यस्तो ? आफैभित्र प्रश्न गरिरहन्थिन् ।

जातिय विभेदकाविरुद्ध बिन्दुले १४ वर्षमा अर्को विद्रोह गरिन् । त्यो बिद्रोह धर्मलाई आफ्नो पेवा सम्झनेहरुका बिरुद्ध थियो । यतिबेलासम्म उनी धेरै बुझ्ने भैसकेकी थिइन । मामाघरमा भएको अपमानले उनी भित्र रोपिएको बिद्रोहको चेतना फक्रदै थियो ।

बिन्दु कक्षा ८ मा पढ्दै थिइन ।

गाउँमा सहभोज तथा मन्दिर प्रवेशको कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्देश्य मनकामना मन्दिर प्रबेश गर्ने थियो । बिन्दुको लागि बिभेदबिरुद्ध संसारले सुन्ने र देख्नेगरी चिच्याउने अबसर थियो । तर यसमा उनले परिवारविरुद्ध पनि लड्नु परेको थियो ।
गोरखाको मनकामना मन्दिर जानबाट दलित समुदायलाई विभिन्न कहानी सुनाएर बञ्चित गरिदै आएको थियो ।

अन्यायविरुद्ध हरेक ठाउँमा बोल्न तयार हुने छोरीलाई रोक्न घरपरिबारले भनेका थिए ‘मन्दिर प्रबेश गरे घरको बुबा वा दाईभाईलाई नराम्रो हुन्छ ।’ बिन्दु परिवारको कुरा मान्ने पक्षमा थिईनन् । उनी मन्दिर पस्ने कुराले गाउँमा खैला बैला मच्चियो !

मन्दिर प्रबेशको कुरा सुनाउँदै बिन्दुले भनिन् “अचम्मको कुरा नि ! उपल्लो जातको त कुरै छोडौ, मेरो आमा पनि डराउनु भएको थियो । रोक्न कोशिस गर्नु भयो ।”

हठी स्वभावकी बिन्दु मनकामना प्रवेश गर्ने अभियानको ‘पहिलो केटी’ हुन् ।

बाउबाजेका पालादेखि मन्दिर प्रबेशमा डरदेखाएर लगाएको जातीय तारबार तोड्ने बिन्दुको हिम्मतले गाउँलेको आँखामा लागेको पट्टी खोलिदियो ।

उनकोे यो कदम समाज परिवर्तनका लागि सामान्य होइन । एउटा बालिकाले सिंगो समाजलाई चुनौतिदिँदै ल्याएको ठूलो परिवर्तन नै हो । समाजमा जमेर बसेको जातीयताको मनोविज्ञानलाई खलबलाईदिने बिद्रोह हो ।
बिन्दु बोल्न मात्र होइन, पढ्नमा पनि अब्बल थिइन् । कक्षामा प्रथम हुने विद्यार्थी हुन् ।

स्कुलमा हुने हरेक प्रतिस्पर्धामा सधै पहिलो हुन्थिन् ।

सामाजिक र जातीय विभेदविरुद्ध धावाबोल्दै आएकी बिन्दुको नर्स बन्ने ठूलो इच्छा थियो । बहिनीको इच्छा पुरा गर्नु दिदीले पाईला पाईलामा साथ दिँदै आएकी थिइन् ।

पढाईमा अब्बल बिन्दु टेस्ट दिएपछि एसएलसीमा राम्रो नम्बर लिएर पास गर्ने योजनाका साथ गोरखाबाट काठमाडौँ आइन् ।

काठमाडौँ, आएकी बिन्दुले प्रेमीसँग परिवारलाई थाहै नदिई विवाह गरिन् ! परिवारको सल्लाह बिना विवाह गर्नुको कारण थियो जातीय बार !

उनका प्रेमी थापाका छोरा थिए, उनी परियारकी छोरी ! समाजको कुरै छोडौँ, परिवारले समेत स्वीकार्दैन भन्ने राम्रोसँग थाहा थियो, तर पनि चोखो प्रेम न हो । प्रेममा जातभातको कुरा आउँदैन !

यस्तै यस्तै लागेको थियो ।

उनीहरुको सम्बन्ध परिवारलाई स्वीकार्य थिएन ।

विवाह भएको चार महिनामै परिवारले श्रीमानबाट छुटाए । ‘विवाहपछि लाग्यो म साँच्चैको सानो जात रहेछु,’ बिन्दुले मन भारी बनाउँदै सुनाईन् । तर, चार महिनापछि श्रीमान बिन्दु भएकै ठाउँमा आईपुगे ।

उनको प्रेम कथा रोचक छ !

कुरागर्दै जाँदा बिन्दु अलि लजाइन् । त्योबेला लुकी छिपी लगाएको मायाका मिठापलहरु ताजा हुँदै गए ।

एउटै कक्षामा पढ्ने । आफ्नो घरभन्दा माथिल्लो घर ! जुन घरपरिवार बिन्दुलाई आफ्नो छोरालाई भन्दा बढी बिश्वास गर्दथे । बिन्दु प्रेमीको घरमा लेखपढ गर्ने काममा सघाँउदै आएकी थिइन् ।

प्रेमीका अंकल सबै लाहुरे थिए । लाहुरबाट आएका सबै चिठ्ठी पढ्ने लेख्ने बिन्दुको जिम्मा नै थियो ।

हुनेवाला ससुराको चिठ्ठी पनि बिन्दुले नै पढेर सुनाउँथिन्, अनि सासुको तर्फबाट चिठ्ठीको जवाफ लेख्थिन् ।

प्रेमिको घरमा हुने हरेक चाडपर्वमा बिन्दुलाई निम्तो आउँथ्यो । तर, बिन्दु लाजले जाँदैनथिइन । उनी नगएपनि आमा खाना बोकेर बिन्दुकै घर पुगेका धेरै यादहरु बिन्दुसँग छन् । यो सबै माया बिन्दु एक होनाहार केटीको रुपमा पाएको थिइन् । आफ्नो छोरासँग प्रेम छ भन्ने कुरा परिबारले सुईकोसम्म पाएका थिएनन् ।

जब उनले बिबाह गरिन् ,सबै माया तिरस्कारमा बदलियो ।

जुनिजुनी नछुट्ने बाचाकसम खाएर बिबाहमा बन्धनमा बाँधिएकी बिन्दुले ४ महिनामै श्रीमानसँग छुटिनुपर्छ भन्ने कल्पना समेत गरेकी थिइनन् ।

चार महिना बिन्दुका जीवनका सबैभन्दा कहाली लाग्दा दिनहरु थिए ।

‘आए, गए …..!’ अहिले उनी (उनै स्कुलेप्रेमी) श्रीमानसँग खुशी छन् ।

विवाहको केही समयपछि बिन्दुको सानो संसारलाई सुन्दर बनाउन छोरीले जन्मलिईन । छोरीको जन्मपछि बिन्दुका धेरै इच्छा चाहानाले बाटो मोडिदिए । नर्स बन्ने सपना यत्तिकै भयो, तर जातीय बिभेदबिरुद्ध अझ शसक्त रुपमा लाग्ने अठोट गरिन् ।

परिबारसँग बोलचाल बन्द थियो, छोरीको जन्मपछि नन्द, देवर र सासुआमाले फोन गर्न थाल्नुभयो । बिस्तारै परिवारमा आवत जावत हुन थाल्यो ।

‘नानी ५/६ बर्षको हुँदा श्रीमान बिदेश जाने कुरा भयो । पहिलो पटक सासुआमा हामी कहाँ आउनुभयो’उनले भनिन् ।

सासु ससुराले बिन्दुलाई पहिला जस्तै माया गर्न लाग्नु भएको थियो ।

बिन्दुको छोरी ठूलो हुँदै थिईन् ।

दुनियाँसँग लड्न, आँट भएकी बिन्दुलाई त्यो दिन आफ्नै छारीसँग डर लाग्यो । जुन दिन छोरीले उनलाई प्रश्नगर्दै भनेकी थिइन ‘अंकलको छोरीहरु मेरो बाबाको घरभित्र जान्छन्,म किन नजाने मम्मी ?’ मासुम छोरीको यति ठूलो प्रश्नले बिन्दुलाई झस्क्यायो । उनलाई फेरि एक पटक आफूले मामाघरमा भोगेको घटनाले चस्सचस्ती घोच्यो ।

बिन्दु भन्छिन् ‘जवाफ दिन गाह्रो भयो । तैपनि मैले भनें, ‘तिम्रो बाबा बिदेश हुनुहुन्छ, तिमी र म मात्र भित्र पस्दा, तिम्रो बाबाको घरमा देउता रिसाउनुहुन्छ । बाबा आएपछि सँगै पस्ने ल छोरी । ’
‘मलाई थाहा छैन, छोरीले त्योबेला मेरो कुरा बुझिन वा बुझिनन् । उनी १० वर्षको थिईन ।’

अंकलका छोरीहरु हजुरआमाको काखमा रमाउँदै घरभित्र बाहिर गरिरहेको बाहिरबाट टुलुटुल हेरिरहेकी मासुमको आँखाले, जातीय बिभेद त देखेन, तर मलाई किन भित्र जान दिएनन् भन्ने प्रश्न जन्मनु सामान्य कुरा होइन । अन्तरजातिय विवाहपछि परिवारमा पैदाहुने वातावरणले बालबालिकाहरुमा कस्तो असर पर्न जान्छ, यो एउटा उदाहरण हो ।

जब छोरी ५ कक्षामा पुगिन, त्यसको प्रत्यक्ष असर देखिन थाल्यो । स्कुलको कुरा सुनाउँदै बिन्दुले भनिन् ‘स्कुलमा अभिभावक मिटिङ थियो, नानीले भनिन्, मम्मी स्कुलमा परियार नलेख्नु, थापा नै लेख्नु है !’
नानीलाई प्रतिप्रश्न गरें, – किन परियार नलेख्ने ?

छोरीले अँध्यारो मुख बनाई । त्योबेला मैले बल्ल बुझें जातिय विभेदको असर छोरीमा नराम्रोसँग परेछ । निकै रोएँ …… ।

फेरि आफूलाई सम्हाल्दै ‘जातीयताको बारेमा छोरीलाई विस्तारै सिकाउन थालें, अहिले त उनी जातिय विभेदविरुद्ध बोल्न सक्ने भएकी छिन् । यसको अर्थ अन्तरजातिय विवाहले ब्यक्तिलाई मात्र होइन, उनीहरुबाट जन्मने सन्तानलाई अझ ठूलो प्रभाव पार्दोरहेछ ।’

‘घरको आमाबुबाको बाध्यता होला ! कुल पुजामा बोलाउनु हुँदैन । हामीलाई पनि माया त, गर्नुहुन्छ तर समाजसँग पनि डरमा हुनुहुन्छ । बुढाभएका आमाबुबालाई समाजबाट किन कटाउने भन्दै म आफै टाढा बसेको छु ।’ ‘बिन्दु आफ्नै जिवन दर्शनको कुरा सुनाउँदै भनिन् ‘अन्तरजातिय बिबाहको पीडा भोग्नेलाई थाहा हुन्छ । मलाई लाग्दैन, अन्तरजातिय बिबाहले जातियविभेद अन्त्य हुन्छ ।’

यसपटक मेरो ससुराले भन्नुभयो, ‘नानी यिनीहरुलाई कानुनको बारेमा थाहा छैन, तिमी किन डराएको घरमा आऊ, बिभेद गर्नेलाई एक/दुई महिना जेलमा राख्नुपर्छ । कानुन कस्तो छ भन्ने कुरा के थाहा ।’ उहाँको कुराले मलाई अचम्मीत बनायो । सयमसँगै उहाँहरु परिवर्तन हुनुभएको छ । यो सुखद कुरा हो ।’

महिला अधिकार, बालबालिकाको शिक्षा र महिलालाई आत्मनिर्भर बनाउने क्षेत्रमा काम गरिरहेको संस्था एडवानको बिन्दु महासचिब हुन् ।

‘अहिले पनि हस्पिटलमा नर्सहरुले लगाएको ड्रेस देख्दा मन अर्कै हुन्छ, त्योबेला पढ्ने ठूलो इच्छा थियो, तर जिन्दगीले अर्कै मोडमा ल्याई पुर्यायो ।’ समाजमा रहेको बिभेद अन्त्यको लागि दलित मात्र होइन, गैरदलित समुदाय पनि बोल्नुपर्छ भन्ने मान्याता बोकेर बिन्दुले आफ्नै पहलमा बाग्लुङका दलित र गैरदलित युवतीहरुलाई नेतृत्व बिकास सम्बन्धी तालिम सुरु गरेकी छिन् ।

उनको त्यो दस्तामा १५ जना युवतीहरु छन् । जसले तीन वर्षसम्म तालिम पाउने छन् ।

उनीहरुले गाउँमा जातिय विभेद, घरेलुहिँसा र मदिरा नियन्त्रण अभियानको नेतृत्व र जनचेतना जगाउने काम गर्नेछन् । यो बाग्लुङमा मात्र होइन, भोलि उनीहरु सिंगो जातीय समातनाको  आन्दोलनलाई लिड गर्नसक्ने छन् ।

‘जातिय विभेद घट्यो भनेर एकाथरी मान्छे कराई रहेका छन् तर बिन्दु भन्छिन् ‘बिभेदको रुप बदलिएको छ, घटेको छैन । पहिला दलितहरु छुनुहुँदैन भनेर भाग्दथे, अहिले गैरदलितहरु आफै भाग्न थालेका छन् । धारा र बाटो हिड्दा छोइएको नाममा दलित समुदाय निर्घात कुटिएका छन् । यस्तो पनि हुन्छ । लोकतान्त्रिक गणतन्त्रमा ? विभेद घटेको भन्न मिल्दैन ।’

‘दलितका मुद्धामा दलितमात्र छलफल गरेर हुँदैन, साँच्चैको परिवर्तन चाहेका हौँ भने, गैर—दलित समुदायलाई पनि छलफलमा बोलाउनु पर्छ । जातीयता र जातीय बिभेद के हो ? बुझाउनु पर्ने गैर—दलित समुदायलाई हो । दिनभर दलितको पक्षमा भाषण गर्ने, घरफर्कदा बाटोमा दलित समुदायको मान्छेले छुन्छ कि भनेर बाटो तर्कने शिक्षित भनिएका समुदायका मान्छेलाई !

एडवानले दलित र गैरदलित महिलाहरुलाईसँगै राखेर काम गर्दै आएको छ । जुन निकै प्रभावकारी बनेको छ ।’

‘अर्कोकुरा, जातिय विभेदका घटनालाई प्रहरीले गम्भिरतापूर्व लिने र मुद्धा चलाउने हो, भने मानिसहरुमा केही सचेतना फैलन्छ । यहाँ त प्रहरीले बिभेदका मुद्धा दर्ता गर्नै मान्दैनन् भने दलित महिलामाथि हुने बलात्कार, छुवाछुत र कुटपिटका घटनामा अभिकांश अधिकारकर्मी महिलाहरु बोल्दैनन् । आश्चर्र्य चकित यहाँ पो हुन्छु ।’ बिन्दुले भनिन ।

‘दलित महिलामाथि घट्ने जघन्य अपराधका घटनामा समाजमा कहलिएका अधिकारकर्मी महिलाले मुखमा ताल्चा ठोकेको देखेर लाग्छ, ढोंगीहरुको यो भन्दा तल्लो रुप अरु हुन सक्दैन ।’

बिन्दु चारतारे होटेलमा हुने अधिकारको बहसमा होइन, महिलाहिंसा र जातियविभेदका बिरुद्ध निस्कने हरेक मोर्चामा भेटिन्छिन् । कहिले न्यायको लागि सड्कमा चिच्याई रहेकी हुन्छिन् भने कहिले गाउँका दिदी बिहीनीसँगको मोर्चामा हुन्छिन् । जातीय समानता र महिला अधिकारको पक्षमा जिवन समर्पित गरिसकेकी बिन्दु भन्छिन्, ‘मैले भेट्न खोजेको समानताको बिन्दु नभेटे पनि नयाँ पुस्ता र मेरो छोरीले अवश्य भेट्ने छन् !’

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com