Follow @khasokhasmag

प्रेमका अढाई अक्षर


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

किशोर पन्थी

पोथी पढी पढी जग मुआ पण्डित भया ना कोय,
ढाई आखर प्रेमका पढे सो पण्डित होय

पन्ध्र सोह वर्ष अगाडि सोह्र सत्र वर्षको हुँदा कलेज पढ्दै गर्दा रेसुंगा बहुमुखी क्याम्पसमा पढाउने हाम्रा गुरुले सन्त कविरको यो कविता हामीलाई कक्षामै सुनाउनुभएको थियो । त्यतीबेला भर्खर बैंश चढेका हामीहरु ‘सरले लभ पार्नलाई सहज बनाइदिनुभयो’ भन्दै गलल्ल हाँसेका थियौं । ‘लभ अफेयर्स’ सुरु गरेका वा सुरु गरिसकेका केहीले त आफूलाई ‘प्रेम’ बुझेको भन्दै महापण्डित ठान्न पनि थालिसकेका थियौं । मुस्लिम परिवारमा जन्मिएका कविरले आफूलाई रामका पुत्र भएको समेत बताउँथे । अल्लाहको पुत्र पनि बताउँथे ।   कविरले मान्छेलाई धर्मको आधारमा विभाजन गर्ने कुरालाई घृणा गर्थे , मानवताका आधारमा सबै मानवबीच प्रेमको भावना फैलाउनुपर्ने कुराको वकालत गर्थे । १५ औं शताब्दीका यी भारतीय महान् सन्त कविले ब्याख्या गरेको प्रेमको एउटा अंशमात्र  बुझ्न पनि मलाई झण्डै डेढदशक लाग्यो । यो प्रेम त हामीले बुझेको ‘लभ अफेयर्स’ भन्दा हामी जस्ताका लागि निकै क्लिष्ट,  विशाल , अभेद्य र झण्डै अगम्य रहेछ । अनि त कहाँबाट बन्न सक्नु कविरले भनेजस्तो पण्डित ।

‘मुना मदन ’, ‘रोमियो जुलियट’ वा ‘लैला मजनु’को प्रेमलाई मात्र प्रेम ठान्ने मलाई प्रेमको परिभाषा यो भन्दा धेरै अनन्त छ भन्नेमात्र बुझ्न पनि वर्षौं लाग्यो । यी प्रेमहरु त प्रेमभित्रको सानो हिस्सामात्र हो भन्ने बुझ्न पनि मैले धेरै पुस्तक पढ्नु र भोग्नुपर्यो । कत्राकत्रा महापण्डित, सन्त, महन्त, धर्मगुरु र स्वामीहरु यही प्रेमको परिभाषा बुझ्दा बुझ्दै परमधाम भइसकेका रहेछन् । प्रेमीप्रेमीकाको प्रेममा लिप्त भएर संसार भुल्नेहरु त कति छन् कति । त्यो बाहेक प्रेमीप्रेमिकाबीचको वा परिवारसँगको प्रेम भन्दा बाहिर निस्केर मानब मानबबीचको प्रेम र मानवता फैलाउनमा नै जीवन समर्पण गर्नेहरुको संख्या पनि निकै रहेछ । अझ त्यो भन्दा पनि माथि सांसारिक प्रेमलाई नै  त्यागेर भगवानप्रतिको प्रेममा लिप्त हुनेहरुको संख्या पनि यो संसारमा कम रहेनछ ।

जगतलाई प्रेम सिकाउने भगवान श्रीकृष्णकी पत्नी राधालाई समेत प्रेम बुझ्न निकै मुस्किल परेका कथाहरु छन् । कंशको बध गर्नका लागि जानु अगाडि श्रीकृष्णले राधालाई भेट्दा राधाले जानुभन्दा अगाडि आफूसँग विहे गर्न आग्रह गरिछन् । तर कृष्णले वास्ता गरेनन् र अन्तैतिर मुख फर्काए ।  त्यसपछि राधाले आफ्नो प्रेमको अपमान भएको महसुस गरिन् । तर जब श्रीकृष्ण राधातिर फर्के त्यतीबेला श्रीकृष्ण नै राधाको स्वरुपमा थिए । आफ्नै स्वरुपमा श्रीकृष्णलाई देखेर राधा चकित भइन् । त्यतीबेला श्रीकृष्णले मुस्कुराउँदै भनेछन् –‘राधा, विवाह त दुईआत्माको मिलन हो । तर हामी त एउटै हौं । तिमी नै म हुँ । के म आफैसँग विवाह गरौं ।’ धार्मिक ग्रन्थहरु अनुशार भगवान श्रीकृष्ण नै मानवजगतलाई प्रेमको सन्देशदिन श्रीकृष्ण र राधा भएर धर्तीमा जन्मिएका थिए । उनले हरेक मानवजाती भित्र  भगवान हुने भएकाले सबैले सबैलाई प्रेम गर्नका लागि महान मानवताको सन्देश दिए ।

राधानाथ स्वामी भन्छन् –‘आत्मियता त भगवानलाई प्रेम गर्नेहरुको प्राकृतिक लक्षण हो । जब हाम्रो मुटुभित्र प्रेममात्रै छ भने बाहिर पनि त्यही प्रेम नै आउँछ । प्रेम नै शत्रुमाथि विजय पाउने र विजेता हुने प्रकृया हो । जब हाम्रो मुटुभित्र प्रेम ब्युझन्छ, तब निस्वार्थ सेवाको काम पूरा गर्न सकिन्छ । ’ मदर टेरेसाले भनिन् –‘हामीले एकअर्कालाई मुस्कानका साथ र मुस्कानका लागि भेटघाट गरौं,  त्यो नै प्रेमको सुरुवात हो ।’ महात्मा गान्थीले भने –‘जहाँ प्रेम छ, त्यही जीवन छ । ’ प्लेटोले कुनै बेला प्रेमीप्रेमीकाबीचको प्रेमप्रति लक्ष्यित गर्दै भने –‘प्रेमको स्पर्सपछि हरेक व्यक्ति कवि बन्छ । ’ तर पछि तिनै प्लेटोले प्रेमको परिभाषालाई त्यो भन्दा धेरै माथिबाट ब्याख्या गर्दै भने –‘प्रेम भनेको सर्वोच्च खुशी हो । भगवान र बौद्धिकताको आश्चर्य हो । ’

महान दार्शनिकहरुले समेत फरक फरक क्षणमा झन् पछि झन् विस्तृत र अनन्त रुपमा ब्याख्या गरेको प्रेमलाई बुझ्न हामीजस्ता साधारण मान्छेको लागि सहज छैन । तर क्रिस्टोफर पाइकले भनेको मान्ने हो भने चाँही सत्य सधै तपाई हामीले कल्पना गरेको भन्दा धेरै नै साधारण हुने गर्छ । होला, प्रेमलाई बुझ्न गाह्रो छ, तर बुझेपछि यो पनि साधारण लाग्ला । हामीलाई जटिल लाग्ने प्रेम जगतगुरु कृपालु महाराजले कति साधारण तरिकाले ब्याख्या गरिदिनुभयो । ओशोका अनुशार जुन अपूर्ण छ, प्रेम त्यसैलाई गर्नुपर्छ ।  कति सहज तरिकाले ओशोले भनिदिनुभयो –‘म यो संसारलाई प्रेम गर्छु किनभने यो संसार अपूर्ण छ । अपूर्ण भएकै कारण यो संसार विकसित भइरहेको छ । कुनै पनि चिज पूर्ण भयो भने विकाश रोकिन्छ र त्यो मृतप्राय हुन्छ । ’

साधारणतया मान्छे जब यो पृथ्वीमा आउँछ , तब सुरुमा उसले आमाको प्रेम अनुभुत गर्छ । आमालाई नै सबैभन्दा धेरै प्रेम गर्छ । त्यसपछि बाबा, दाजु भाई दिदीबहिनीसँगको प्रेम । आफन्तहरुप्रतिको प्रेम ।  साथीभाईहरुसँगको प्रेम । प्रेमीप्रेमीकाबीचको प्रेम । त्यसपछि श्रीमान्श्रीमतिबीचको प्रेम । सन्तानप्रतिको प्रेम । आफ्नो नाम, दाम र सम्पत्तिप्रतिको प्रेम । यो संसार छाडेर जान मान्छेलाई कति धेरै मुस्किल हुन्छ, किनभने ऊ सांसारिक मायाजाल र प्रेममा फसिसकेको हुन्छ ।  उसलाई आफ्नो परिवार र सम्पत्ति छाडेर जान मन लाग्दैन । तर अन्तमा उसले भगवानलाई प्रेम गर्नु नै संसारको सत्य भएको बुझ्छ र संसारबाट विदा हुन्छ । श्रीकृष्णले भनेजस्तै मनभित्रै इश्वर हुने भन्दै जीवनभर वकालत गरेका   लक्ष्मी प्रसाद देवकोटाले मर्ने बेलामा त्यसै लेखेका होइनन् –

संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी हराएँ
आखिर रहेछ श्री कृष्ण एक
न भक्ति भो ज्ञान, न भो विवेक । 

हरेक साधारणमान्छेले भोग्ने प्रेम त प्रेमीप्रेमीकाबीचको प्रेमभन्दा धेरै विस्तृत छ भने वास्तविक प्रेम बुझ्न सहज हुन्थ्यो कसरी ? ओशोले त्यसै भनेका होइनन् –‘प्रेमबारे कसैलाई पढाउन सकिने कुरा होइन, यो त पक्रिने चिज हो । ’ त्यसैले प्रेम दिवसको यो अवशरमा म यतिमात्र भन्न चाहन्छु –‘मलाई भविश्यमा सबैलाई प्रेम गर्ने शक्ति प्राप्त होस् ।’

न्युयोर्क, अमेरिका । 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com