कार्यकारी आदेश अदालतले रोकपछि ‘नयाँ आदेश’को तयारीमा ट्रम्प


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

सातवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा अस्थायीरुपमा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले ‘एकदमै नयाँ’ अर्को कार्यकारी आदेशको तयारी गरिरहेका छन् ।

शुक्रबार राष्ट्रपति चढ्ने बिमान एयरफोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ब्राण्ड न्यू कार्यकारी आदेशको तयारी भइरहेको खुलासा गरेका हुन् । ट्रम्पले भने यो युद्ध हामीले नै जित्नेछौं । तर हामीसँग ब्राण्ड न्यू आदेश जारी गर्ने लगायतका अरु धेरै विकल्पहरु पनि छन् ।

ट्रम्पले सोमबार वा मंगलबारसम्म पर्खेर त्यस्तो खालको नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरिरहेको र त्यसमा नयाँ सुरक्षा मापदण्डहरु तोकिने जनाइएको छ । विहिबार पुनरावेदन अदालतले पनि ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका लागि गरिएको आग्रह अस्वीकार गरिदिएपछि ट्रम्पले नयाँ सुरक्षा मापदण्डसहितको नयाँ कार्यकारी आदेशको तयारी गरेका हुन् ।

ह्वाइट हाउस र डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरुले विभिन्न विकल्पहरुबारे छलफल गरिरहेका छन् । कानुनी अड्चनहरु पार गर्नेगरी कार्यकारी आदेशको पुनलेखन गर्ने वा पुनरावेदनमा नै सम्पूर्ण अदालत नै कार्यकारी आदेशबारे मतदानमा जाने विकल्पहरुमा छलफल भइरहेको जनाइएको छ । तर शुक्रबार ह्वाइट हाउसका अधिकारीले कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालत नजाने बताइसकेका छन् ।

९० दिनसम्म भिसा खारेज गर्ने र १२० दिनसम्म शरणार्थी कार्यक्रम रद्द गर्ने कार्यकारी आदेश लागु नभएपछि प्रशासनले अमेरिका आउनेहरुका सन्दर्भमा अत्यन्तै शख्त छानविनको प्रकृया अपनाउने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com