अमेरिकामा डिपार्टमेन्ट अफ जस्टिसका प्रमुखको सपथग्रहण, गैरकानुनी अध्यागमनको अन्त्य गर्ने धारणा


प्रकाशित मिति : माघ २८, २०७३ शुक्रबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका नयाँ महान्यायाधिवक्ताले आज ह्वाइट हाउसको ओभल अफिसमा पदको सपथ ग्रहण गरेका छन् । अमेरिकामा महान्यायाधिवक्ता नै अन्य देशको कानुन मन्त्रालय सरहको डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख हुन् । नवनियुक्त महान्यायाधिवक्ता जेफ सेसन्सले पदको सपथ ग्रहण गर्नासाथ अमेरिकाले गैरकानुनी अध्यागमनको अन्त्य गर्नैपर्ने बताएका छन् ।

बुधबार सिनेटमा भएको मतदानमा नयाँ महान्यायाधिवक्ताको पक्षमा ५२ र विपक्षमा ४७ मत खसेको थियो । त्यो भन्दा अगाडि उनकोबारेमा सदनमा सुनुवाईहरु भएका थिए । संसदीय सुनुवाई र सिनेटमा मतदानपछि उपराष्ट्रपति माइक पेन्सले बिहिबार उनलाई ह्वाइट हाउसमा पदको सपथ ग्रहण गराएका हुन् ।

महान्यायाधिवक्ता सेसन्स डोनाल्ड ट्रम्पको आप्रवासी नीतिका कट्टर समर्थक मानिन्छन् । ओभल अफिसमा नयाँ महान्यायाधिवक्तालाई भेट्दै राष्ट्रपति ट्रम्पले बिहिबार तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

महान्यायाधिवक्ता सेसन्स पनि डोनाल्ड ट्रम्पकै उमेरका अर्थात् ७० बर्षका हुन् भने ट्रम्पको राजनीतिक अभियानका बेलादेखिका समर्थक हुन् । अब उनले अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको प्रमुखका रुपमा ९३ जना युएस एटोर्नी सहित १ लाख १३ हजार कर्मचारीहरुको नेतृत्व गर्नेछन् । सन् १९८६ मा संघीय न्यायाधिसको पदमा उनी सिनेटको मतदानमार्फत अस्वीकृत भएका थिए । त्यसयता उनलाई अमेरिकामा पक्षपातीको आरोपहरु लाग्दै आएको छ ।

अमेरिकामा डिपार्टमेन्ट अफ जस्टिसको संरचना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com