प्रेमीसँग मिलेर ६१ वर्षीया आमाको हत्या, चार पक्राउ


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।

प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

“आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com