मेक्सिकोबाट अमेरिका छिर्ने यात्रामा रहेका सयौं नेपालीको बाटैमा बिचल्ली


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

-किशोर पन्थी / अनिल अधिकारी 

एकातिर अमेरिकाले सिमा सुरक्षामा कडाई गर्दै लगेको छ भने अर्कोतर्फ गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने योजनाका साथ सयौं नेपालीहरुले यात्रा तय गरिसकेका छन् । उनीहरु दलाललाई लाखौं रुपैया बुझाएर अमेरिकातर्फको गैरकानुनी यात्रामा निस्किसकेका छन् ।

दलाललाई ३५ लाखदेखि ६० लाखसम्म बुझाएर अमेरिका छिर्ने योजनाका साथ पानामा, मेक्सिको, ग्वाटेमाला लगायतका देशहरुमा आइसकेका छन् । दलाललाई रकम बुझाएर बीच बाटोमा आइसकेका नेपालीहरुको संख्या ६ सयको हाराहारीमा रहेको बीचबाटोमा आउँदै गरेका नेपालीहरुले जानकारी दिएका छन् ।

दलाललाई ६० लाख बुझाएर कोलम्बिया आइपुगेका केही म्याग्दीका एक नेपालीले खसोखाससँग कुरा गर्दै भने –‘हाम्रो समुहमा मात्र झण्डै तीसजना नेपालीहरु छौं । दलालले बीसदेखि चालिसजनासम्मको समुह बनाएर पठाएका छन् । कोही पनामातिर छन् भने कोही मेक्सिको पुगिसके । अमेरिका जाने आशामा दलाललाई पैसा बुझाएर नेपाल छाडिसकेका नेपालीहरु झण्डै ६ सयको हाराहारीमा छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निल्नु न ओकेल्नु

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमा सुरक्षामा कडाई गर्न डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई आदेश दिइसकेका छन् । देशनिकालाको दर बढाउन इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमा नयाँ डाइरेक्टर नियुक्त गरेका छन् । मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा पर्खाल लगाउन कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । सिमा सुरक्षा बल र आइसका अधिकारीहरुको संख्यामा बृद्धि गर्ने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा सयौं नेपालीहरु गैरकानुनी रुपमा सिमा क्षेत्रबाट अमेरिका छिर्ने यात्रामा बीच बाटोमा दक्षिण अमेरिकातिर छन् ।

यसरी दलाललाई रकम बुझाएर बीच बाटोमा आइसकेका नेपालीहरुका लागि अबको बाँकी यात्रा खाउँ भने दिनभरको शिकार, नखाउँ भने कान्छा बाबुको अनुहार जस्तो भएको छ । अब बीच बाटोबाटै फर्कने हो भने दलाललाई बुझाएको लाखौं रकम फिर्ता नहुने निश्चितप्राय छ । अमेरिकातिर गैरकानुनी रुपमा सिमा पार गरेर छिर्ने यात्रा तय गर्ने हो भने सिमानामा पक्राउ परेर नेपालतिरै देशनिकाला हुने डर छ । बेलिजको भिसा लगाएर मेक्सिको आइपुगेका एक नेपाली भन्छन् –‘अब यहीबाट फर्कौं भने लाखौं ऋण काढेर दलाललाई बुझाइएको छ । त्यो ऋण कसरी तिर्ने ? अमेरिका छिरौं भने समातिएर डिपोर्ट हुने डर ।’

सयौंको बिचल्ली

अमेरिकाको परिदृश्यमा आएको वदलावपछि दलालहरुले अमेरिका आउने गैरकानुनी यात्रामा रहेकाहरुलाई बीच बाटोमा नै ‘होल्ड’ गरिरहेका छन् । ग्वाटेमालामा आएर रोकिएका एक नेपालीले खसोखाससँग कुराकानी गर्दै भने –‘हामीलाई ल्याउने दलालले अमेरिकाको सुरक्षा अवस्था कडा भएको भन्दै हामीलाई फोयाब्लो भन्ने शहरमा रोकेका छन् । सिमित बाटोखर्च रहेका कैयनको बिचल्ली भइरहेको छ । अझै धेरै दिन रोकिनु परेमा हाम्रो अवस्था के हुने हो निकै डर लागेको छ । ’

मेक्सिको हुँदै अमेरिका आउने यात्रामा रहेका सयौंको संख्यामा नेपालीहरु मेक्सिको, पानामा, ग्वाटेमाला, होण्डुरस लगायतका स्थानमा बिचल्लीमा परेको ती स्थानबाट खसोखासलाई सम्पर्क गरेर बताएका छन् । दलाललाई लाखौं रुपैंयासम्म बुझाएर अमेरिका प्रवेशको यात्रा तय गरेका उनीहरु यतिबेला अमेरिका प्रवेश गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका छन् । अमेरिका छिर्न नपाइएला कि भन्ने डरले त्रसित उनीहरु अमेरिका छिर्न नपाएमा लाखौंको ऋणको त्रासले अत्तालिन थालेका छन् ।

मेक्सिकोको राइनोसा भन्ने शहरमा रोकिएका एक नेपालीलाई खसोखासले ‘किन यति धेरै रकम दलाललाई बुझाएर अमेरिका आउन खोजेको ?’ भन्ने प्रश्न गर्दा उनले भने –‘यहाँ यस्तो अवस्था हुन्छ भन्ने उतै थाहा पाएको भए आउने थिइन । हामीलाई मेक्सिकोबाट सजिलै छिर्न सकिन्छ भनेर आश्वासन दिइयो । अब के गर्ने के गर्ने अलमलमा छु । अमेरिका छिर्न पाए त जीवनभर काम गरेर भएपनि कमाउँथें होला ।’

बोलिभिया, क्युटो लगायतका देशको भिसा लगाएर अमेरिका छिर्ने यात्रामा रहेका नेपालीहरुलाई मध्ये कतिपयलाई त अमेरिका छिर्न पाइने आशा समेत हराउन थालेको छ । अमेरिका छिरीहालेपनि पक्राउ परेर डिपोर्ट हुनुपर्ला भन्ने त्रास छ । मेक्सिकोको राइनोसामा भएका बाग्लुङ्गका एक युवा भन्छन् –‘अब अमेरिका छिर्न गाह्रो छ भन्छन् दलाल । छिरीहालेपनि डिर्पोट हुने डर छ । हामी त मर्ने न बाँच्ने अवस्थामा छौं ।’

दलाल नै सम्पर्कबिहिन

गैरकानुनी रुपमा अमेरिका छिर्ने यात्रा असहज बन्दै गएपछि दलालहरु नै सम्पर्कबिहिन हुन थालेका छन् । सात महिना लगाएर ग्वाटेमाला आइपुगेका गुल्मीका एक युवा न अगाडि बढ्ने न फर्कने अवस्थामा छन् । उनी भन्छन् –‘करिव १५ दिन जस्तो भयो । अहिले त दलालले फोन समेत गर्दैन ।’

बाटोमा अलपत्र परिरहेका नेपालीहरुलाई पठाउने दलालले एक महिना चुप लागेर बस्न भनेको छ । कतिपयलाई दलालले नै खान र बस्नको व्यवस्था गरेर फोन समेत नगर्न भनेको बताएका छन् । नेपालबाट भारत हुँदै अमेरिका प्रवेशसम्मको खर्च दलालले बेर्होने भएकाले पनि बाटोमा आउँदा नेपालीहरुले दलाललाई सम्पर्क गर्छन् ।

पकेट खर्चका लागि ल्याएको रकम बाटोमा चोरी हुने र कहिले काँही खानपिनमा समेत खर्च गर्नुपर्ने हुनाले दलाललाई सम्पर्क गर्नुपर्ने भएपनि दलाल सम्पर्कबिहिन भएको उनीहरुले बताएका छन् । लामो समय दलालसँग सम्पर्कबिहिन भएमा आफ्नो अवस्था के हुने हो भन्ने त्रासले उनीहरु तड्पिन थालेका छन् ।

कति नेपाली पक्राउ पर्छन् ?

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने कैयन नेपालीहरुमध्ये केही पक्राउ नपरिकनै अमेरिका छिर्छन् भने केही सिमा क्षेत्रमा पक्राउ पर्ने गरेका छन् । बर्षेनी कतिजना नेपालीहरु पक्राउ पर्छन् भन्ने यकिन तथ्यांक छैन तर अमेरिकाको सिमा सुरक्षा बल र इमिग्रेशन एण्ड कस्टम इन्फार्समेन्टको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशन अन्तरगत सिमा पार गर्ने क्रममा र छिरिसकेपछि पक्राउ पर्ने नेपालीहरुको संख्या आर्थिक बर्ष सन् २०१६ मा पाँचसयको हाराहारीमा रहेको थियो ।

सन् २०१५ मा सिमा सुरक्षा बल र इमिग्रेशन एण्ड कस्टम इन्फार्समेन्टको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशन अन्तरगत ४४३ जना नेपालीहरु पक्राउ परेका थिए जसमध्ये अधिकांश गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरु थिए । त्यस्तै सन् २०१४ मा पक्राउ पर्ने नेपालीहरुको संख्या ५५५ रहेको थियो । सन् २०१३ मा ४४८ जना नेपालीहरु र सन् २०१२ मा २४८ जना नेपालीहरु पक्राउ परेका थिए । यसरी हेर्दा सन् २०१२ देखि सन् २०१६ सम्मको अवधिमा गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने नेपालीहरुको संख्या अत्याधिक बढेको थियो ।

सन् २०११ मा १८० जना नेपालीहरुलाई सिमा सुरक्षा बल र इमिग्रेशन एण्ड कस्टम इन्फार्समेन्टले पक्राउ गरेको थियो । त्यस्तै सन् २०१० मा २३० जना नेपालीहरु यसरी पक्राउ परेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सन् २००९ मा पक्राउ पर्ने नेपालीहरु १४८ जना रहेका थिए भने सन् २००८ मा १०२ जना नेपालीहरु पक्राउ परेका थिए । सन् २००७ मा भने ४४ जना र सन् २००६ मा ४८ जना नेपालीहरु पक्राउ परेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग तथ्यांक रहेको छ ।

 

पक्राउ परेकामध्ये कति डिपोर्ट ?

पक्राउ पर्नेहरुको संख्या उल्लेख्य भएपनि पक्राउपछि डिपोर्ट हुनेहरुको संख्या भने कम छ । पक्राउ परिसकेपछि नेपालीहरुले नेपालमा राजनीतिक कारण फर्कन नसक्ने भन्दै एसाइलम फाइल गर्ने भएकाले उनीहरुलाई धरौटी वा जमानीमा छाड्ने गरिएको छ ।

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले सन् २०१६ मा २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । उनीहरु आर्थिक वर्ष २०१६ को अवधि अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

सन् २०१५ को तुलनामा सन् २०१६ धेरै नेपालीहरु आइसमार्फत डिपोर्टेशनमा परेका थिए । ट्रम्प प्रशासनको कडा नीतिका कारण यो बर्ष अझ धेरै नेपालीहरु डिपोर्ट हुने सम्भावना देखिएको छ ।

 

विभिन्न समयमा गैरकानुनी रुपमा अमेरिका छिर्ने प्रयासमा समातिएका नेपालीहरुको फाइल तस्विर ।

खसोखासमा अमेरिकाब्यूरोबाट प्रकाशित यो  सामाग्री अन्य संचारमाध्यममा हुबहु साभार गर्नु अगाडि अनुमति लिनु अनिवार्य छ । अनुमतिका लागि [email protected] मा सम्पर्क गर्नुहोला । रिपोर्टका अंशहरु साभार गर्दा श्रोत खुलाउनु अनिवार्य छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com