आगामी सातादेखि लाखौं कागजपत्रविहिनलाई देशनिकाला गर्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

आगामी सातादेखि अमेरिकाबाट दशौं लाख कागजपत्रविहिनहरुलाई देशनिकाला गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । कागजपत्रविहिनहरुलाई आमरुपमा पक्राउ गरेर देशनिकाला गरिने ट्रम्पले चेतावनी दिएका हुन् ।

सोमबारसाँझ ट्रम्पले ट्वीट गर्दै अमेरिका आउने कागजपत्रविहिनहरुलाई जति छिटो आएका थिए, त्यती नै छिटो देशनिकाला गरिने बताएका छन् । अमेरिकामा झण्डै १० लाख व्यक्तिले अन्तिम देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेका छन् । उनीहरुलाई पक्राउ गरेर देशनिकाला गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ ।

आइसले अहिलेसम्म सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई अमेरिकाबाट देशनिकाला गरेको थियो । नेपालीहरुको सन्दर्भमा भने झण्डै १५ सयजनाले देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेको अनुमान गरिएको छ । तर उनीहरुमध्ये अधिकांशलाई भने अहिले टीपीएसले समेटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियान सुरु गर्नुभन्दा ठीक अगाडि यस्तो घोषणा गरेका हुन् । दोश्रो कार्यकालका लागि ट्रम्पको चुनावी अभियान फ्लोरिडामा एक कार्यक्रमका साथ मंगलबार रातीदेखि औपचारिक रुपमा सुरु हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com