अमेरिकामा थप ३० हजार अस्थायी विदेशी कामदार भिसाको कोटा पूरा


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

आर्थिक बर्ष २०१९ का लागि अमेरिकामा कृषि बाहेकका अन्य विदेशी अस्थायी कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेकाले थप आवेदन नलिइने युएससीआईएसले जनाएको छ । अतिरिक्त अधिकतम ३० हजार अस्थायी कामदार भिसा एच टु बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले स्पष्ट पारेको छ ।

गत मे ८ देखि युएससीआईएसले अस्थायी कामदार भिसाका लागि आवेदन लिन सुरु गरेको थियो । अस्थायी कामदार भिसामा ३० हजारको कोटा थप गरिएपछि उक्त कोटा पूरा गर्न आवेदन लिन सुरुवात गरिएको थियो । तर एकमहिनाको अवधिमा प्रयाप्त आवेदन परिसकेका छन् ।

युएससीआईएसले जुन ५ पछि प्राप्त त्यस्ता आवेदनहरु फाइल गरेको शुल्कसहित नै फिर्ता गरिदिने जनाएको छ । बसाईको अवधि थप्ने, रोजगारको शर्त परिवर्तन गर्ने, रोजगारदाता परिवर्तन गर्ने लगायतका एच टु बी आवेदनहरु भने स्वीकार गरिने युएससीआईएसले स्पष्ट पारेको छ ।

अमेरिकी संसदले अस्थायी कामदार भिसाका लागि बार्षिक ६६ हजारको कोटा तय गरेको छ । जसमध्ये ३३ हजारले अक्टोबर १ देखि मार्च ३१ सम्म र ३३ हजारले अप्रिल १ देखि सेप्टेम्बर ३० सम्म काम सुरु गर्छन् । तर यो बर्ष सेप्टेम्बर ३० भित्र काम सुरुवात गर्नेगरी ३० हजार कोटा थपिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com