एयरलाइन्सले बोक्न थाले सबै यात्रु, स्थीति पहिलेकै जस्तो, ट्रम्प आक्रोशित


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा कार्यकारी आदेश कार्यान्वयनमा शियाटलका एकजना संघीय न्यायाधिसले रोक लगाएपछि एयरलाइन्सहरुले प्रतिबन्ध लगाइएका भनिएका सातवटा देशहरुसहित सबैदेशका यात्रुहरु बोक्न थालेका छन् । मुस्लिम बाहुल्य रहेका सातवटा देशका व्यक्तिलाई अमेरिकामा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम रद्द गर्ने ट्रम्पको कार्यकारी आदेशपछि एयरलाइन्सहरुलाई प्रतिबन्धित देशका यात्रुहरु नबोक्न भनिएको थियो ।

युरोप र मध्यपूर्वबाट अमेरिका उड्ने विमानहरुले पुन प्रतिबन्ध लगाइएका भनिएका सातदेशसहित यात्रुहरु बोक्न थालेको जनाएका छन् । ट्रम्पको कार्यकारी आदेशमा संघीय न्यायाधिसले रोक लगाएपछि अब अमेरिकी भिसा भएका दशौं हजार यात्रुहरुलाई एयरलाइन्सहरुले कार्यकारी आदेश अगाडिकै अवस्थामा जस्तो विमानमा चढ्न अनुमति दिने भएका छन् ।

ट्रम्पको कार्यकारी आदेशपछि एयरलाइन्सहरुलाई अध्यागमन कानुनको कार्यान्वयनका क्रममा अग्रमोर्चामा राखिएको थियो । यदि एयरलाइन्सले अमेरिका प्रवेशमा अनुमति नभएका यात्रुहरुलाई बोकेमा ४ हजार अमेरिकी डलर भन्दा धेरै जरिवाना हुने प्रावधान रहेको छ ।

लुफथान्सा एयरलाइन्सले प्रतिबन्ध लगाइएका सातवटा देशहरुसहित उपयुक्त यात्रा कागजात भएका सबै देशका यात्रुलाई विमानमा चढाउन सुरु गरिएको जानकारी दिएको छ । परिवर्तन हुनसक्ने नयाँ नियमका लागि आफूहरु अमेरिकी अधिकारीहरुसँग सम्पर्कमा रहेको एयरलाइन्सले जनाएको छ । कतार एयरलाइन्सले पनि अमेरिकाको भिसा र ग्रिनकार्ड भएका सबैलाई विमानामा चढाउन सुरु गरिएको जनाएको छ । एयर फ्रान्स र ब्रिटिस एयरवेजले पनि प्रतिबन्ध लगाएका देशहरुबाट समेत आफूहरुले यात्रुहरु स्वीकार्न सुरु गरेको जनाएका छन् ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसले कार्यकारी आदेशमा रोक लगाउने न्यायाधिसको आदेशबिरुद्ध डिपार्टमेन्ट अफ जस्टिसले आपतकालिन पुनरावेदन गर्ने बताएका छन् । शनिवार विहानै डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै भनेका छन् – ‘कथित न्यायाधिसको धारणाले हाम्रो देशबाट आधारभूतरुपमै कानुन कार्यान्वयनमा अवरोध उत्पन्न भएको छ । जुन हास्यास्पद रहेको छ । जुन छिट्टै उल्टाइनेछ ।’

त्यसपछिका दुईवटा ट्वीटमध्ये एउटामा ट्रम्पले न्युयोर्क टाइम्सलाई गाली गरेका छन् भने अर्कोमा मेक अमेरिका ग्रेट अगेन लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com