विदेशी विद्यार्थीलाई ग्रिनकार्डको बाटो खोल्ने विधयेक सदनमा


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

अमेरिकी सदनमा पेश गरिएको एउटा विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड पाउन सजिलो हुने भएको छ । सोमबार सदनमा पेश गरिएको विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई विना कुनै व्यवधान ग्रिनकार्डको प्रकृयामा लैजानका लागि बाटो खोल्नेछ । कँग्रेसम्यान जो लोफ्ग्रेनले सदनमा पेश गरेको यो विधयेक पारित भएमा निश्चित योग्यता पुगेका विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्डको प्रकृयामा लैजानका लागि विशेषखालको संरचना निर्माण गरिनेछ ।

‘हाइ स्कील्ड इन्टेग्रिटी एण्ड फेयरनेस एक्ट २०१७’ नाम दिइएको यो विधयेकले अमेरिकाभित्रै रहेका दक्ष व्यक्तिलाई काम र स्थायी बसोबासका लागि प्राथमिकता दिन्छ । तर यो विधयेक पारित भएमा विदेशबाट कामदार ल्याउने प्रकृयामा भने समस्या उत्पन्न हुनेछ ।

त्यस्तै दुईजना शक्तिशाली सिनेटरहरु ग्रासले र डर्बिनले सन् २०१७ का लागि सदनमा पुन पेश गर्ने भनिएको विधयेक पारित भएमा पनि अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्डको प्रकृयामा जान केही सहज अवस्था सृजना हुनेछ । यो विधयेक पारित भएमा कामदार भिसा एचवानबीको पहिलो प्राथमिकता अमेरिकी डिग्री हासिल गरेका विदेशी विद्यार्थीहरुलाई प्रदान गरिनेछ ।

सदनमा रहेका यी विधयेकहरु पारित भएमा कामदार भिसाको प्रकृयालाई जटिल बनाएपनि अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई भने सहज अवस्था आउने न्युयोर्कका चर्चित कानुन व्यवसायी केशव सेडाइले बताउनुभयो ।

विद्यार्थी भिसामा रहेकाहरुलाई पूराना व्यवधान हटाएर ग्रिनकार्डको प्रकृयामा लैजाने योजना क्यानडाको प्वाइन्ट सिस्टम जस्तै रहेको सेडाईले प्रस्ट पानुभयो । यो विज्ञान, इन्जिनियरिङ, प्रविधि, गणित लगायतका क्षेत्रमा मास्टर्स डिग्री गरेकाहरुले निश्चित प्वाइन्टका आधारमा सिधा ग्रिनकार्डको प्रकृयामा जानसक्ने प्रावधान हो । विधयेक पारित भएमा एचवान बी भिसा वा ओपिटीमा काम गरिरहेकाहरुले पनि प्वाइन्ट सिस्टममा ग्रिनकार्डका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

विधयेक पारित भएमा ग्रिनकार्डका लागि क्यानेडियन प्रणाली लागु हुनेछ भने लेवर सर्टिफिकेटको प्रावधानपनि हट्ने सम्भावना छ । यो नियम लागु भएमा योग्य र क्षमतावान विद्यार्थीहरुका लागि निकै सजिलो हुनेछ । जसबाट अमेरिकामा रहेका कैयन नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com