कार्यकारी आदेशपछि १०९ जनामाथि विमानस्थलमा नियन्त्रण


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी कार्यक्रम १२० दिनको लागि स्थगन गर्ने र सातवटा मुलुकका नागरिकका लागि ९० दिनसम्म अमेरिकी भिसा खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेयता अमेरिकाका विमानस्थलमा १०९ जनालाई नियन्त्रणमा लिइएको छ ।

३ लाख २५ हजारजनाले यात्रा गरेकोमा १ सय ९ जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको ह्वाइट हाउसका चिफ अफ स्टाफले जनाएका छन् । उनीहरुमध्ये अधिकांशलाई छाडिसकिएको र केही दर्जनलाई अझै नियन्त्रणमा राखिएको उनले बताएका छन् । घातक रहेको पुष्टी नभएमा छानविनपछि उनीहरुलाई पनि छाडिने उनले जनाएका छन् ।

ट्रम्पको कार्यकारी आदेशलगत्तै अमेरिकाका विभिन्न विमानस्थलहरुमा इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकहरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये केही अमेरिकामा ग्रिनकार्ड प्राप्त व्यक्तिहरुसमेत छन् । अमेरिकाको नागरिकता लिएका व्यक्तिले ती देशको समेत दोहोरो नागरिकता राखेको भएमा उनीहरुलाई पनि अमेरिका प्रवेशमा निगरानी गरिएको छ ।

यसैबीच अमेरिकामा ट्रम्पको कार्यकारी आदेशबाट प्रभावित भएकाहरुलाई क्यानडाले अस्थायीरुपमा आवास प्रदान गर्ने जनाएको छ । क्यानडाका अध्यागमनमन्त्रीले यस्तो कुरा बताएका हुन् । यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडेउले युद्ध , आतंक र दमनका कारण देश छाड्न बाध्य भएकाहरुलाई क्यानडाले स्वागत गरेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com