राणाकाे बैठक कोठाबाट मार्बल ल्याएर शहीद गेट निर्माण


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ राम्रो गर्नुप-यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो” भनेपछि तत्कालीन राजा महेन्द्रले “हुन्छ” भन्नुभयो र सिङ्गमरमर टाँस्ने योजना बन्यो ।

तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुनसक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो ।

“सस्तो मार्बल खोज्दै थियौँ । ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिने भने । हामीले हुन्छ भन्यौँ” शहीद गेटका डिजाइनर (इन्जिनियर) शङ्करनाथ रिमालले त्यस बखतको घटना स्मरण गर्नुभयो, “ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने । हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौँ ।”

तिनताका काठमाडौँको जग्गाको भाउ खासै थिएन । सरकारले सम्पत्तिमा तीन प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । “करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाउ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले” उहाँले थप्नुभयो, “उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।” सो मार्बल ललितपुरको गोदावरीमा उत्पादन भएको हो । याे समाचार प्रकृति अधिकारीले गाेरखापत्रमा लेखेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com