नेपालको टीपीएसबारे छुट्टै सुचना निकाल्ने तयारीमा युएससीआईएस
प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार
नेपालको टीपीएस जुन २४ पछि स्वत लम्बिने भएपनि ६ महिना अर्थात् डिसेम्बर २४ सम्म लम्बिने वा सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरका जस्तै जनवरी २ सम्म लम्बिने भन्नेबारे युएससीआईएसले प्रष्ट पारेको छैन । नयाँ वर्क परमिटको म्याद पनि कहिलेसम्म जारी रहने भन्नेबारे युएससीआइएसले केही बताएको छैन ।
युएससीआईएसका एकजना प्रवक्ताले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको कुराकानीमा नेपालको टीपीएसबारे छुट्टै सुचना निकाल्ने तयारीमा युएससीआईएस रहेको बताएकी छिन् । जुन २४ भन्दा अगाडि नै छुट्टै सुचना निकालेर थपिएको वर्क परमिट वा टीपीएसको म्यादबारे जानकारी दिइने युएससीआईएसका प्रवक्ताको भनाई छ ।
जुन २४ सम्म टीपीएस कायम भएका नेपालीहरुले थपिएको अवधिका लागि टीपीएस कायम गर्न कुनै फर्म भर्न वा आवेदन दिन जरुरी छैन । तर नयाँ म्याद भएको वर्क परमिट बोक्न चाहनेहरुले भने त्यसका लागि आवेदन दिन सक्नेछन् । साथै सुरुमा लिएर बीचमा टीपीएस छाडेकाहरुले अहिले नै बिलम्ब आवेदन पठाएर टीपीएस पुन प्राप्त गर्नसक्नेछन् ।







