३४४७ किलो सामाग्री बोकेर अन्तरिक्ष स्टेशनतर्फ उडेको यानमा नेपालको स्याटेलाइट १ किलो
प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

७६ सय पाउण्ड अर्थात् ३४४७ किलो सामाग्री बोकेको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ उडेपनि त्यसमा बोकिएको नेपाली स्याटेलाइटको तौल भने झण्डै १ किलोमात्र रहेको छ । अन्य ३४४६ किलो सामाग्री भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका कर्मचारीहरुका लागि आवश्यक शोध, सप्लाइ र हार्डवेयरका सामाग्रीहरु हुन् ।
जसमा ४० वटा मुसा समेत रहेका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले यो सबै सामान प्राप्त गर्नेछन् । मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको हो । २० वटा मुसालई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।
नेपालीस्याट १ न्यानो स्याटलाइट रहेपनि नेपालको पहिलो पाइला भएकाले यसलाई सकारात्मक रुपमा हेरिएको छ । यो स्याटेलाइट केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्ने जनाइएको छ ।
यो स्याटेलाइटको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्ने जनाइएको छ । यो स्याटेलाइट अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।