भाटभटेनीका मालिक एक्लैले लिएका रहेछन्, ६३ राेपनी बालुवाटारकाे सरकारी जग्गा
प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ।
तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको सरकारी जग्गा बिक्री गरेको खुलेको हो।
‘माफियाले घरानिया व्यापारी र शक्तिकेन्दसम्म पहुँच भएका व्यक्तिलाई बालुवाटारको जग्गामा साझेदार बनाउनुको मुख्य कारण पछि विवाद आउँदा सजिलै सल्टाउन सकिने रणनीति नै हो,’ अनुसन्धान स्रोत भन्छ, ‘तर जुनसुकै पहुँच र दबाबलाई बेवास्ता गरेर अनुसन्धान अघि बढाउनू भन्ने हामीलाई निर्देशन छ।’
२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले त्यसको केही वर्षभित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए। मीनबहादुर गुरुङ एक्लैले कम्पनी तथा परिवारका सदस्यका नाममा ६३ रोपनी जग्गा खरिद गरेको ललितानिवास हिनामिनासम्बन्धी अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।
ललितानिवासको जग्गामा व्यापारीलाई भित्र्याउने मुख्य योजनाकार भाटभटेनी सुपरमार्केट सञ्चालक गुरुङ, भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी हुन्। गुरुङ, ढकाल र सुवेदीले तत्कालीन भोगाधिकारीसँग २०६१ सालमा ललितानिवास परिसरको जग्गा खरिद गरेका थिए। याे खबर आजकाे नागरिक दैनिकमा छ।