एकै परिवारका तीन जनाले गरे आत्महत्या
प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन्। घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ। एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए।
उनीसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ। मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन्। आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ।
मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । उनीहरु करिब आठ वर्षाघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।