जापानमा नेपाली कामदारकाे न्यूनतम तलब दुई लाख रुपैयाँ हुने
प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे दुई देशबीच सोमबार समझदारी भएको छ । एक कार्यक्रमकाबीच नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘एमओयु’ मा हस्तक्षर भएको छ। जापानले आउदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ ।
समझदारी अनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार छनौट हुने भएको छ । ‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्ने छैन, कामदार पठाउने काम सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ’, मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रालयका अनुसार ‘तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने भएकाले सरकारले नै छनौट गर्ने भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभाग अन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरे अनुसारका कामदार पठाउन सहजीकरण गर्ने छ ।
वैदेशिक रोजगारका लागि सरकार आफैं संलग्न भएको यो तेस्रो देश हो । यसाघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । जापानले आवश्यकता अनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ ।
५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापान सरकारको नीति रहेको छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन । कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । नेपाल समाचारपत्र दैनिक