पाँचबर्षदेखि युएससीआईएसमा एसाइलम आवेदन दिने नेपाली टपटेनबाट बाहिर
प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार
विगत पाँचबर्षदेखि युएससीआईएसमा एसाइलमका आवेदन दिने नेपालीहरुको दरमा नाटकीय रुपमा कमी आएको अमेरिकाका एउटा संसदीय रिपोर्टले जनाएको छ । खासगरी भिसा लिएर अमेरिका आएका नेपालीहरुले युएससीआईएसमा एसाइलमका लागि आवेदन दिने दरमा कमी आएको हो ।
सन् २००८ मा युएससीआईएसमा एसाइलम आवेदन दिनेमा नेपालीहरु विश्वमा नै सातौं नम्बरमा रहेका थिए । अर्थात् कुल एसाइलम आवेदकहरुमध्ये २ प्रतिशत नेपालीहरु रहेका थिए ।
त्यस्तै सन् २००९ मा अमेरिकाको युएससीआईएसमा कुल एसाइलम आवेदकहरुमध्ये ४ प्रतिशत नेपालीहरु रहेका थिए । अर्थात् विश्वका एसाइलम आवेदकमा नेपालीहरु पाँचौं नम्बरमा थिए । सन् २०१० मा नेपालीहरु पाँचौं नम्बरमा नै रहेका थिए ।
सन् २०११ मा युएससीआईएसमा एसाइलम आवेदन दिनेमा नेपालीहरु चौथो नम्बरमा परे । सन् २०१२ र २०१३ मा पनि नेपालीहरु पाँचौं नम्बरमा नै थिए ।

तर सन् २०१४ यताभने युएससीआईएसमा एसाइलम आवेदन दिनेमा नेपालीहरु टपटेनबाट नै बाहिरिएका छन् । सन् २०१४ यता कुल एसाइलम आवेदकमध्ये नेपालीहरु २ प्रतिशतभन्दा पनि कम रहेका छन् ।
सन् २०१७ र १८ मा सबैभन्दा धेरै एसाइलम आवेदक भेनेजुएलाका थिए भने सन् २००७ देखि सन् २०१६ सम्म सबैभन्दा धेरै एसाइलम आवेदन दिनेमा चिनियाहरु रहेका थिए ।
सन् २०१८ मा १ लाख ६ हजार १ सय ४७ जनाले युएससीआईएसमा एसाइलम आवेदन दिएका थिए । सन् २०१७ मा १ लाख ४१ हजार ६३८, सन् २०१६ मा १ लाख १४ हजार ९ सय २७, सन् २०१५ मा ८३ हजार २ सय ५१, सन् २०१४ मा ५६ हजार ९ सय १२, सन् २०१३ मा ४४ हजार ४ सय ४६, सन् २०१२मा ४१ हजार ८ सय ८० जनाले एसाइलमका लागि विश्वभरबाट आवेदन दिएका थिए ।
सन् २०११ मा ३५ हजार ६६, सन् २०१० मा २८ हजार ४ सय ४३, सन् २००९ मा २४ हजार ५ सय ५०, सन् २००८ मा २५ हजार ५ सय ५ र सन् २००७ मा २५ हजार ६ सय ७४ जनाले अमेरिकामा एसाइलम आवेदन दिएका थिए ।






