अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने नीति टेक्सासमा विस्तार गरिदै


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

गतमहिनादेखि क्यालिफोर्नियाको सान डिएगो टिवाना सिमाक्षेत्रमा लागु गरिएको माइग्रेशन प्रोटेक्सन प्रोटोकल अमेरिकी सरकारले टेक्सास क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ । यो नीति अन्तरगत अमेरिकी पोर्ट अफ इन्ट्रीमा आएर वा गैर कानुनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गर्ने क्रममा पक्राउ परेर अमेरिकामा एसाइलम दावी गर्नेहरुलाई अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाइने छ ।

प्रस्तावित नीतिबिरुद्ध अमेरिकी सरकारले अदालतमा मुद्दाको पनि सामना गरिरहेको छ । तर अमेरिकी सरकारले भने एसाइलम खोज्नेहरुलाई मेक्सिको फिर्ता पठाउने नीति एरिजोना, न्यु मेक्सिको, टेक्सास र क्यालिफोर्नियाका अन्य भागहरुमा पनि विस्तार गर्ने योजना बनाएको एलपासोकी डेमोक्रेटिक सांसद भेरोनिका एस्कोबारले पुष्टी गरेकी छिन् ।

एरिजोना, न्यु मेक्सिको, टेक्सास र क्यालिफोर्नियाका अन्य भागहरुमा नीति विस्तारको योजनाबारे पहिलोपटक पोलिटिकोले खुलासा गरेको थियो । अहिलेको नीति अनुशार अमेरिकामा प्रारम्भिक रुपमा क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्ने एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि अमेरिकामा नै बस्न दिने गरिदै आएको छ । तर नयाँ नीति अनुशार उनीहरुले मेक्सिकोमा नै बसेर अदालती सुनुवाई कुर्नुपर्नेछ ।

एल पासोमा दैनिक ६० जनासम्म एसाइलम आवेदकको प्रकृया अगाडि बढाइदै आएकोमा अहिले २० जनाभन्दा पनि कमको प्रकृया अगाडि बढाउन थालिएको छ । पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई निरुत्साहित गर्नका लागि अमेरिकी सरकारले कमभन्दा कमको प्रकृया अगाडि बढाइरहेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com