विदेशी नागरिकले लिएका तीन सय बढी नेपाली नागरिकता रद्द !
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए ।
नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ ।
यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ ।






