आईआरएसबाट भन्दै फोन गर्ने ठगहरुबाट होशियार !
प्रकाशित मिति : माघ १४, २०७५ सोमबार
करदाता र भर्खरै अमेरिकामा आएका आप्रवासीहरुलाई लक्ष्यित गरेर अमेरिकाभर फोनमार्फत भइरहेका ठगीका घटनाबारे आन्तरिक राजस्व सेवा आईआरएस ग्राहकहरुलाई सावधान गराउन चाहन्छ ।
ठगहरुले फोन गरेर पीडितहरुलाई उनीहरुले आईआरएसलाई रकम तिर्न बाँकी रहेको भन्दै डेबिट कार्ड र वायर ट्रान्सफरमार्फत रकम माग्ने गरेका छन् । यदि पीडितले ठगहरुले भने अनुशार गर्न नमानेमा उनीहरुले पीडितलाई गिरफ्तार गर्ने, डिपोर्ट गर्ने , विजनेश र चालक अनुमति पत्र खारेज गरिदिने सम्मका धम्की दिने गरेका छन् । धेरैजसो समयमा फोनगर्नेहरु रुखो वा होच्याउने प्रकृतिका हुने गर्छन् ।
यस्ता ठगहरुले करदातालाई अमेरिकाका प्राय सबै राज्यहरुमा निशाना बनाउने गरेका छन् । हामी करदाताहरुलाई शिक्षित बनाउन चाहन्छौं कि उनीहरुले आफूलाई यस्ता ठगहरुबाट बचाउन सकुन् । निश्चिन्त हुनुहोस्, आईआरएसले फोन मार्फत कहिले पनि क्रेडिट कार्ड नम्बर माग्दैन र माग्नेछैन , नत प्रिपेड डेविट कार्ड वा वायर ट्रान्सफरकै लागि अनुरोध गर्छ । यदि कसैले आफू आईआरएसबाट भन्दै फोन गरेर प्रहरीबाट गिरफ्तार गराउने, डिपोर्ट गराउने वा लाइसेन्स खारेज गरिदिने धम्की दिन्छ भने त्यो आईआरएसको आधिकारिक फोन नभएको संकेत हो । आईआएरएसले करको विषयमा करदातालाई भरसक चिठीपत्रमार्फत नै सम्पर्क गर्छ ।
ठगहरुले नक्कली नाम र नक्कली आईआरएस ब्याज नम्बर प्रयोग गर्छन् । उनीहरुले आफूलाई चिनाउन सामान्यतया प्रचलित नामहरु वा थरहरु प्रयोग गर्छन् । ठगहरुले सोसल सेक्युरिटी नम्बरका अन्तिम चार अंकहरु भन्न पनि सक्छन् । ठगहरुले फोन आइआरएसबाटै भएको भान पार्न कलर आइडीमा आईआरएसको टोल फ्रि नम्बर देखिने प्रविधिको प्रयोग गर्छन् । ठगहरुले कहिलेकाँही पीडितलाई नक्कली इमेल पठाएर फोनमा कुरा गर्ने वातावरण समेत बनाउने गरेका छन् । पीडितहरुले पाश्र्वमा अरु यस्तै प्रकारका फोनकलको आवाज समेत सुन्न सक्छन् किनभने ठगहरुले पीडितलाई आश्वस्त पार्न पृष्ठभूमिमा त्यस्तो आवाज बनाएका हुन्छन् ।
यदि तपाईले आईआरएसबाट भन्दै त्यस्ता नक्कली फोनकल पाउनुभएमा आईआरएसमा सम्पर्क गर्नुहोला । यस्ता नक्कली फोनकलबारे तपाईले कर प्रशासनका लागि कोष अनुसन्धान अधिकारीको कार्यालयमा जानकारी गराउन सक्नुहुनेछ । तपाई आफू यसको शिकार हुनुभएको छ भने तपाईले फेडरल ट्रेड कमिशनमा सम्पर्क गर्न सक्नुहुन्छ । आईआरएसले करदातालाई यस्ता फोनहरुविरुद्ध चनाखो हुन अनुरोध गर्छ । आईआरएसले इमेलमार्फत करदातासँग उनीहरुको व्यक्तिगत र ब्यापारिक जानकारी लिनका लागि सम्पर्क गर्दैन । त्यस्तै आईआरएसले व्यक्तिगत र ब्यापारिक जानकारी लिनका लागि एसएमएस वा सामाजिक मिडियाको प्रयोग पनि गर्दैन । आईआरएसले क्रेडिट कार्ड र बैंक खातामा पहुच पुग्ने पीन वा पासवर्ड समेत कहिल्यै माग्दैन ।
(फोनबाट हुने ठगीसम्बन्धि आईआरएसले गरेको सार्वजनिक अनुरोधको नेपाली अनुवाद )






