प्राशाको प्रतिक्षा


प्रकाशित मिति : पुस १५, २०७३ शुक्रबार

– प्राशा तुलाधर

प्रत्यारोपणका लागि फोक्सो प्राप्त भएको जानकारी आएपछि मैले क्रिसमसको दिनमा त्यो खुशी साट्नका लागि केही लेखेर पोष्ट गर्न खोजेको थिएँ । तर मलाई जानकारी दिइयो कि त्यो दिन मेरो फोक्सो प्रत्यारोपण गर्ने दिन थिएन । त्यसैले मैले साट्न खोजेको खुशी केवल मेरो नोटमा सेभ गरेर राखें । मेरो साथमा रहेका धेरै मान्छेहरुलाई निराश बनाएकोमा मैले निकै ठूलो पीडाको महसुस गरें । मेरो सम्पूर्ण परिवार, मेरा साथीहरु, सारा, लिण्डा र नर्सहरु मेरो कोठामा मेरो प्रत्यारोपण हुने खुशी मनाइरहेका थिए । तर मैले अनुभव गरें कि सान्ताले मेरो लागि वास्तवमा फोक्सो लिएर आएनन् । मैले त्यतीबेला मेरो बुबाआमाको अनुहारमा झल्केको दुख स्पष्ट देख्न सक्थें । यो मेरो जीवनको सबैभन्दा खराब क्रिममसको रुपमा रह्यो । म कम्बलमुनी एक्लै दुखी भइरहें र मनमने भनें, ’ठीकै छ प्राशा । अर्कोपटक फोक्सो पाउने तिमी नै हुनेछौ ।’

सान्ताले झुक्याएको त्यो दिन

जब डाक्टरले मेरा लागि फोक्सो प्राप्त भएको खबर सुनाएका थिए, त्यतीबेला मेरो खुशीको सिमा रहेन । मेरा एकजना सहकर्मीले फोक्सो प्राप्त गरेका थिए । मैले अनुभव गरेंकी सान्ताले मेरा लागि फोक्सो लिएर आए । त्यो दिन र रातमैले कस्तो अनुभव गरेकी थिएँ भन्ने म यहाँ तपाईहरुसमक्ष बाँड्न चाहन्छु । कहिलेकाही जीवनमा हामीले चाहेजस्तो तरिकाले चिजहरु हुँदैनन् तर केहीचिज निकै राम्रो पनि हुन्छ । कसैको जीवन वास्तविक रुपमा नै बचाइएको हुन्छ । म त्यो परिवारलाई धन्यवाद दिन चाहन्छु, जसले आफ्नो छोरीका अंग अरुलाई दान गर्ने निर्णय गरेका थिए । फोक्सो दान गर्ने उनी त यहाँ छैनन् तर उनको उपहार सधैभरी यही रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यो दिन निकै कडा थियो मेरा लागि । म असाध्यै कडा छातीको पीडाका साथ विहान २ बजे ब्यूझें । मलाई थाहा थिएन कि मलाई अर्को हृदयघात भइरहेको थियो । मेरी बहिनी र मेरा श्रीमान्ले मलाई शान्त राख्न प्रयास गरिरहेका थिए । नर्सले मेरो इकेजी गर्न खोजिरहेकी थिइन् । मैले मेरो टाउको उठाउन पनि सकिरहेकी थिइन । मेरो मुटुको धड्कन एकदमै बढेर १ सय ५० सम्म पुगेको थियो । मेरो अक्सिजन लेभल घटेर ६० भन्दा तल झरेको थियो । डाक्टर मलाई शान्त र स्थीर बनाउने योजनाका साथ आइपुगे । मलाई केही इन्जेक्सनहरु दिए । झण्डै आधा घण्टासम्मको अत्यासलाग्दो अवस्थापछि म स्थीर अवस्थामा फर्कें ।

विहानको ४ बजेर ४९ मिनेट गएको थियो । मलाई मेरा श्रीमान्ले ब्यूझाउँदै भन्नुभयो कि मेरालागि नयाँ फोक्सोको अफर आएको छ । मलाई निद्रा लागिरहेको थियो किनभने मलाई केहीबेर अगाडिमात्र हृदयघात भएको थियो । र, म एकदमै थकित अवस्थामा थिएँ । मेरा श्रीमान्ले मेरा लागि फोक्सोको अफर आएको कुरा सुनाउदा सुरुमा त मलाई पत्यारै लागेन । उनीहरुलाई मलाई यसबारेमा दिउसोसम्म सबै जानकारी दिने बताए । हामीले परिवारमा फोन गरेर मेरो बच्चासहित अस्पतालमा आृउन अनुरोध गर्यौं । हामीले फोक्सो प्रत्यारोपण अगाडि खान र पिउन नपाइने नियम थाहा पाएकाले त्यसपछि सुत्यौं ।
मैले मेरा एकजना डाक्टरसँग सल्लाह लिएँ । मेरो परिवारले मलाई त्यसदिन दिनभर नै आराम गर्न दिए । मेरा सर्जनहरु अनुमतिका लागि आए । शल्यक्रियाका लागि स्थीति ठीक भएको संकेत गर्ने ए लाइन र पिक लाइन ठीक थिए । मेरा शल्यचिकित्सकहरु शल्यक्रिया हुने ठाउँमा दुईघण्टा अगाडि नै पुगेका थिएँ । म केही टाइप गर्दै अन्तिम बोलाबटका लागि कुरिरहेकी थिएँ । यदि सबै ठीकठाक भएको खण्डमा म यहाँबाट सिधै अपरेशन थियटरमा गइरहेकी थिएँ ।

हामीहरु डाक्टरको प्रतिक्षामा थियौं । म लगायत मेरो सबै परिवार र मेरो बच्चा । कन्सासबाट मेरा मिल्ने साथी पनि आएका थिए । हामी सबै उच्च आशाका साथ बसिरहेका थियौं । आशा गरौं, सबै ठीक हुनेछ भन्ने ठान्दै ।

तर हामीले सोंचेजस्तो भएन । सान्ताले मेरालागि फोक्सो ल्याएनन् । जे भएपनि म अर्को फोक्सोको प्रतिक्षाका लागि तयार छु । मेरो आशा अझैपनि उच्च रहेको छ । मैले अफैपनि आफूलाई बलियो राख्ने प्रयास गरिरहेकी छु । म आइसियुबाट हिडेर बाहिरपट्टी एलिभेटरसम्म पुगें, त्यहाँ मेरा परिवारका सदस्यहरु पूरै समय बसिरहेका थिए । मसँग संसारभरका मान्छेको आशिर्वाद र प्राथना छ । र म जेरीको यो भनाइ विश्वास गर्छु कि तिमी असफल हुनै सक्दैनौ ।

यसरी मेरो जीवनमा आयो विपत्ति

जब म २३ वर्षको उमेरमा न्युयोर्क युनिभर्सिटीको पोलिटेक्निक इस्टीच्युटमा जुनियर थिएँ, मेरो जीवनमा ठूलो बज्रपात भयो । मैले मेरा एकजना मायालु दाजुलाई मोटरसाइकल दुर्घटनामा गुमाएँ । मलाई बेहोस हुने रोग थियो । पछि मलाई इस्क्लेरोडोमा भन्ने खतरनाक रोग लागेको पत्ता लाग्यो । मलाई त्यतीबेला भनियो कि मेरो कहिलेपनि बच्चा हुनेछैनन् । त्यतीबेला म असाध्यै विचलित हुन पुगें । मेरो पढाइ पनि बिग्रदै जान थालेको थियो । मैले के गर्ने, के नगर्ने केही सोंच्नै सकिन । त्यतीबेला मेरो जीवन पीडा र डिप्रेशनमा डूबेको थियो । रोगको बारेमा अरु जानकारी लिएपछि मैले महसुस गरें कि अब मेरो जीवनमा केही पनि बाँकी रहेन । मेरो शरिर कडा बन्दै गइरहेको थियो भने शरिरमा नकारात्मक परिवर्तन भइरहेको थियो । त्यतीबेला मैले किमोथेरापीमा जान अस्वीकार गरें किनभने कहिल्यै सन्तान नहुने कुराले म त्रसित भएकी थिएँ ।

एकदिन मैले निकै शान्त भएर सोंचे । मेरो जीवनमा जे भएको थियो र जे हुनेवाला छ त्यो त म परिवर्तन गर्न सक्दिन । त्यसैले मैले सकुन्जेल जीवनको आनन्द लिनुपर्छ । त्यसका लागि मैले केही सुची बनाएँ र विभिन्न स्थानको यात्रा गर्न थालें । अनुभवहरुले मलाई परिपक्व र खुशी बनायो । त्यहीबेला मैले एकदम राम्रो युवक भेटें जुन पछि मेरा श्रीमान् बने । मैले उनलाई मेरो रोगका बारेमा पनि बताएकी थिएँ तर उनी हिच्किचाएनन् । उनले मलाई सधै मेरो सुखदुखमा साथ दिए । भाग्यवश म गर्भवती भएँ । जुन दिन मेरालागि सबैभन्दा खुशीको दिन थियो । हाम्रो असाध्यै जटिल प्रसुती भएको थियो अस्पतालमा । मलाई पाँचमहिनाको गर्भपतनका लागि सुझाव पनि दिइएको थियो । किनभने मेरो स्वास्थ्य असाध्यै खराब बन्दै गइरहेको थियो । तर डाक्टरको सहयोगमा मैले बच्चा जन्माउन सकें । हामी असाध्यै खुशी भयौं ।

यद्यपी मेरो कथा यत्तिमा नै सकिएन । अर्कोदिन मेरो फोक्सोले काम गर्न छाडेपछि मेरो खुशीको कथा एकदमै तितो नोटसहित अन्त्य भयो । म मृत्युको मुखमा पुगें । मैले मृत्युको यति नजिक पुगेको अनुभव गरें कि मलाई कुनै पीडा नै हुन छाड्यो । तर भाग्यवश मेरा डाक्टरले पुन मेरो जीवन बचाए । झण्डै चारमहिनासम्म मेरो रोग कम पीडादायी अवस्थामा नै स्थीर रह्यो । मलाई सिलिण्डरबाट अक्सिजन लिइरहनु पनि परेन । म मेरो बच्चा र श्रीमान्सँगै थिएँ । पछि मौसम परिवर्तन हुँदै गर्दा सन् २०१३ को अक्टोबरमा मलाई फोक्सोको रोग पल्मोनरी फाइब्रोसिस रोग लागेको पत्ता लाग्यो । यो असाध्यै विनाशक रोग थियो । मेरो जीवनको आयु दुईदेखि पाँचवर्ष तोकियो । मलाई पुन अक्सिजनमा राखियो ।

अब मेरो जीवनको एउटै आशा भनेको फोक्सो प्रत्यारोपणमात्र थियो । सन् २०१४ को फरबरीमा मलाई पल्मोनरी आर्टेरियल हाइपरटेन्सन भएको निष्कर्ष निकालियो । अतिरिक्त अक्सिजन दिंदा पनि मेरो शरिरले आवश्यक अक्सिजन प्राप्त गर्न सकिरहेको थिएन । मलाई विभिन्न खालका औषधीहरु चलाइएको थियो । सन् २०१४ को अप्रिलमा इस्क्लेरोडोमा पनि पूर्णरुपमा फर्कियो । मेरो छाला असाध्यै कडा हुन थाल्यो, ढुंगा र काठजस्तै । मेरा हातहरुपनि घुम्रिन थाले । म मेरो शरिर नुगाउन पनि नसक्ने भएँ । मैले आफ्नो कपाल कोर्न पनि नसक्ने भएँ । नुहाउन पनि नसक्ने भएँ । जब खान खोज्थें, चम्चा मेरो हातबाट भूईमा खस्थ्यो । मेरो शरिरमा कुनै शक्ति थिए । म मर्दै गइरहेकी थिएँ । डाक्टरहरुले पनि मलाई अब कुनै सहयोग गर्न नसक्ने बताइसकेका थिए । मेरो शरिरको आन्तरिक संरचना नै परिवर्तन हुँदै गइरहेकाले मैले असाध्यै धेरै पीडा अनुभव गरिरहेकी थिएँ । मेरो स्वासप्रस्वास, पाचन र रक्तसंचारप्रणाली ध्वस्त हुँदै गइरहेको थियो । यस्तो अवस्थामा मेरो फोक्सोको प्रत्यारोपण टिमले मलाई अर्कै डाक्टरसमक्ष पठाए, जसले मेरो औषधी परिवर्तन गरिदिए । त्यसपछि मेरो स्वास्थ्यमा धेरै सुधार नआएपनि मेरो छाला नरम बन्दै गयो । मेरालागि यो एउटा चमत्कार जस्तै नै थियो ।

अन्तत डिसेम्बर २०१४ मा म फोक्सो प्रत्यारोपणका लागि सुचिकृत भएँ । जुन मेरालागि सबैभन्दा राम्रो क्रिसमस उपहार थियो । म रोएँ किनभने मलाई अझै बाँच्ने आशा थियो । मेरी छोरी राम्रो तरिकाले हुर्कदै गइरहेकी थिइन् । अहिले म फोक्सोको प्रतिक्षामा उपचार गराइहेकी छु । म आफूलाई बलियो भन्दा बलियो राख्दै गइरहेकी छु । म अशक्त जस्तो देखिन्छु होला तर मानसिक रुपमा म अशक्त छैन । जीवन एकदमै सुन्दर छ, जब तपाईले आफूसँग जे छ त्यो स्वीकार्नुहुन्छ,, जब तपाईले आफू जस्तो हुनुहुन्छ त्यो स्वीकार्नुहुन्छ । कहिलेकाँही वास्तविकता स्वीकार्न निकै मुस्किल हुन्छ किनभने कुनै प्रश्नको पनि सिधा जवाफ छैन । तर तपाईले त्यो खोज्दै जानुपर्छ । तपाईको मुटुमा जहिले पनि आशा हुनुपर्छ र आफैभित्र विश्वास हुनुपर्छ ।
यस्तै कुराहरु सोंचेर म तपाईहरुसमक्ष सहयोगको आग्रह गरिरहेकी छु । मेरो स्वास्थ्य बिमाले फोक्सो प्रत्यारोपणका लागि लाग्ने सबै खर्च कभर गर्दैन । सहयोगको आग्रह गर्ने बाहेक मसँग अरु कुनै उपाय छैन । अहिले यो एउटा केबल प्रतिक्षाको खेल भइरहेको छ र म मेरो जीवनमा परिवर्तनको प्रतिक्षा गरिरहेकी छु । म धुजाधुजा भएपनि मैले यो रोगलाई जीत्न दिनेछैन । चमत्कारको प्रतिक्षा गरिरहेकी छु ।


(प्राशा तुलाधरले लेखेको नोटको नेपाली अनुवादको सम्पादित अंश । )

प्राशाको उपचारमा सघाउन अमेरिकाबासी नेपाली एकजुट

फोक्सोको रोगबाट पीडित भई नयाँ फोक्सो प्रत्यारोपणको प्रतिक्षामा रहेकी प्राशा तुलाधरलाई आर्थिक सहयोग गर्न अमेरिकाबासी नेपालीहरु एकजुट भएका छन् । कोलम्बिया अस्पतालमा उपचार गराइरहेकी २७ वर्षीय प्राशाको फोक्सो प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाउने क्रम तीब्र बनेको छ ।
आइतवार न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा प्राशाको उपचारमा सहयोग गर्न ७ हजार ३ सय ७५ डलर संकलन गरिएको थियो । न्युयोर्क नेवा गुठी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको आयोजनामा गरिएको कार्यक्रममा उपस्थीत नेपालीहरुले प्राशाको उपचारको लागि दिल खोलेर आर्थिक सहयोग गरेका थिए । सहयोग संकलन कार्यक्रममा ८० वर्षका कमलबहादुर खड्काले भजन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै प्राशाको उपचारका लागि सहयोग गर्न गोफण्डमा बिहिबारसम्म ४० हजार ४ सय डलर संकलन भएको छ । १ लाख डलर उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा गोफण्डमार्फत बिहिबारसम्म ७ सय ४० जनाले सहयोग गरेका छन् । गोफण्डमार्फत सहयोग गर्नेमा नेपाली बाहेकका पनि रहेका छन् ।
त्यसैगरी सामुदायिक पत्रिका विश्वसन्देश साप्ताहिकको वार्षिक उत्सवको अवशरमा आयोजित कार्यक्रममा पनि २४ हजार १ सय ७० डलर प्राशाकी आमा शकुन्तला तुलाधरलाई हस्तान्तरण गरिएको थियो । विश्वसन्देशको पहलमा अमेरिकाबासी नेपालीहरुका तर्फबाट संकलित रकम प्राशाको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

हाल प्राशा फोक्सो प्रत्यारोपणको प्रतिक्षामा रहेका अन्य १० हजार बिरामीहरुको सुचीमा छिन् । न्युयोर्क निवासी बक्सिङ खेलाडी प्रकाशधर तुलाधरकी जेठी छोरी प्राशाका श्रीमान् दीपक महर्जन र दुईवर्षकी छोरी जोलेन उनीसँगै छन् । हाल उनी न्युयोर्कमा रहेको अस्पतालको आईसीयुमा छिन् ।

खसोखास साप्ताहिकमा प्रथम पटक प्रकाशित मिति : ७ जनवरी २०१६

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com