२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

यी हुन् अमेरिकी सरकार शटडाउनका कारण एसाइलम स्थगित हुने नेपाली

अध्यागमन अदालत

अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगितहुँदा प्रभावित हुने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण हरेकदिन ४ देखि ७ जना नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएका छन् ।

क्रिशमस, नयाँ बर्ष, सप्ताहन्त लगायतका विदाहरुबाहेक यो अवधिमा अमेरिकी अध्यागमन अदालत झण्डै १४ दिन खुल्नुपर्नेमा यी दिनहरुमा तय भएका अदालती सुनुवाईहरु सरकार शटडाउनका कारण स्थगित भएका छन् । अहिलेसम्म ७० भन्दा धेरै नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएको तथ्यांकले देखाएको छ ।

सरकार शटडाउनका कारण थुनामा राखिएका बाहेक अन्यका अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । यी मुद्दाहरुको सुनुवाई अब कम्तीमा २ बर्षदेखि ४ बर्षसम्म पछि धकेलिने भएको छ । शटडाउन अन्त्य भएपछि स्थगित भएका मुद्दाहरुका लागि नयाँ सुनुवाई मिति प्रदान गरिनेछ ।

अमेरिकी अध्यागमन अदालतमा हरेक महिना एकसयको हाराहारीमा नेपालीका एसाइलमका मुद्दाको सुनुवाई हुने गरेको छ । गत नोभेम्बरमा मात्र ९६ जना नेपालीका एसाइलमका मुद्दाको सुनुवाई गरिएको थियो भने अक्टोबरमा १ सय ५ जना नेपालीका अध्यागमन मुद्दाको सुनुवाई गरिएको थियो ।

अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण जनवरी ११ सम्म विश्वभरका नागरिकका ४२ हजार ७ सय ४६ वटा अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भइसकेको छ । हरेक साता शटडाउन बढ्दैजाँदा प्रभावित हुने मुद्दाको संख्या २० हजारका दरले बढ्दै जाने ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउसको तथ्यांकले देखाएको छ । शटडाउन जनवरीको अन्त्यसम्म पनि कायम भएमा कम्तीमा १ लाख अध्यागमनका मुद्दाहरु स्थगित हुने देखिएको छ ।

शटडाउन कायम रहदै गर्दा अमेरिकी अध्यागमन अदालतमा ब्याकलग पनि क्रमश बढ्दै गएको छ । नोभेम्बरको अन्त्यसम्म अमेरिकी अध्यागमन अदालतमा ८ लाख ९ हजार ४१ केसको ब्याकलग कायम रहेकोमा शटडाउनका कारण ब्याकलग अझ थपिएको छ । दुईदेखि ४ बर्ष कुरेर अदालतको सुनुवाई मिति पाएकाहरुले शटडाउन अन्त्यभएपछि फेरी दुईदेखि ४ बर्षपछिको नयाँ मिति पाउनेछन् ।

अमेरिकाका अध्यागमन अदालतहरुमध्ये क्यालिफोर्नियाको अदालतमा जनवरी ११ सम्म शटडाउनका कारण ९ हजार ४ सय २४ केसको सुनुवाई स्थगित भएको छ । त्यस्तै न्युयोर्कको अदालतमामात्र ५३२० अध्यागमन मुद्दाको सुनुवाई स्थगित भएको छ । टेक्सासमा ५१४१, फ्लोरिडामा ४२३२, न्युजर्सीमा १८९४, मासाचुसेट्समा १८०५, भर्जिनियामा १७९१, मेरिल्याण्डमा १३६७ अध्यागमन मुद्दाको सुनुवाई स्थगित भएको छ ।

जनवरी १८ सम्म शटडाउन कायम रहेमा ६७ हजार ४ सय २७ मुद्दाहरु स्थगित हुनेछन् भने जनवरी २५ सम्म शटडाउन कायम रहेमा ८६ हजार १ सय ९२ मुद्दाहरु स्थगित हुनेछन् । फरबरी १ सम्म शटडाउन कायम रहेमा १ लाख ८ हजार १ सय १२ अध्यागमन मुद्दाहरु स्थगित हुनेछन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →