दुर्घटना बढी हुने सडकमा स्टिलबार लगाइने


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

  सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो ।

क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा जिल्लाका केआइसिंह राजमार्गका दिपायल, सिलगढी, शान्तिनगर, फुलौट, रामपुर, कालागाढलगायत क्षेत्रका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालयका महाशाखा प्रमुख रुपकराज भण्डारीले बताउनुभयो ।

“यहाँका अति संवेदनशील तथा दुर्घटना बढी हुने सडक किनारामा स्टिलबार लगाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “स्टिलबार लगाएपछि दुर्घटनामा केही कमी आउने छ ।” जिल्लामा सडक दुर्घटनाका कारण वर्षेनी दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

“कच्ची सडक मात्र नभएर जिल्लामा रहेका पक्की सडकमा पनि वर्षेनी ठूला सवारी दुर्घटना भएको पाइएको छ”, उहाँले भन्नुभयो, “सडकको बनावट र चालकको लापरवाहीले बढी दुर्घटना भएको देखिन्छ, स्टिलबारले दुर्घटना भए पनि रोक्न र छेक्न सक्छ ।”

अत्तरिया दिपायल हँुदै बाजुरासम्मका दुर्घटना बढी हुने सडकमा स्टिलबार लगाइने जानकारी दिँदै सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो, “बढी दुर्घटना हुने तथा जोखिम बढी भएका सडकमा हामीले स्टिलबार लगाउँदैछौँ, स्टिलबारले सवारी दुर्घटना अवश्य रोक्ने छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com