शिक्षकको कुटाइले विद्यार्थीको मृत्यु


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । ‘शवको पोस्टमार्टम रिपोर्टका आधारमा कारबाही हुन्छ, भिसेरा जाँचका लागि पठाइएको छ’, उनले भने । रिपोर्ट आइसकेको छैन । मृत्युको कारण अहिल्यै भन्न नसकिने उनले बताए । ‘बाहिरी चोटपटक देखिएको छैन, सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने ।साथी रीमाका अनुसार शिक्षकको पिटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्कंदा अजयलाई खाटमा बेहोस अवस्थामा भेटेकी थिइन् । ‘छोरालाई बेहोस देखेपछि हतपत अस्पताल लग्यौं, अस्पताल पुगेको केहीबेरमै बाबुको सास गयो,’ कोशिलाले भनिन् ।

उनले भनिन्, ‘किन त्यस्तो भयो, विद्यालयबाट किन चाँडै फर्केको हो भन्ने पछि मात्रै थाहा भयो ।’त्यही विद्यालयमा कक्षा ६ मा पढदै गरेकी छोरी शान्ति र छिमेककी अर्की छात्राले सुनाएपछि मात्रै घटनाबारे थाहा पाएको उनले बताइन् । अजयका साथी धर्मेन्द्र ठाकुरका अनुसार कक्षा ७ का सबै जनालाई शिक्षक यादवले तेस्रो घण्टीमा बाहिर निकालेका थिए कक्षामा फर्काएर सरले अजयलाई बेस्सरी कुट्नुभयो, कुटाइले उ थरथर कामिरहेको थियो,’ उनले भने, ‘सरले कुटदै, हप्काउँदै घर पठाइदिनुभयो, अजय रुँदै गयो ।’ निजी विद्यालयमा पढ्ने अजय यसै वर्षदेखि उक्त सरकारी विद्यालयमा भर्ना भएका हुन् ।विद्यार्थीको मृत्युपछि गाउँका सयौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र अस्पताल पुगेका थिए । ‘अस्पताल ल्याउँदा अजय बेहोस थियो, मुखबाट र्‍याल निस्केको थियो,’ मेडिकल सुपरिन्टेन्डेड झाले भने, ‘पोस्टमार्टम जाँचका लागि प्रहरीले पेटमा भएको खानाको केही भाग लगेको छ, रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’ अजयले बान्ता र पखाला गरेको देखिएको उनले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com