अफ्रिकामा बेचिन लागेका १३ नेपाली चेलीको भारतबाट उद्दार
प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार
भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीको उद्दार गरिएको छ ।
नेपाली जनसम्पर्क समिति, भारतले यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि मंगलबार काठमाडौं ल्याएको हो ।
भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दारी गरी काठमाडौं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए ।
समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकि ९१ जना चेलीहरुको उद्धार गरिएको दावी पनि गरेको छ ।
ती चेलीहरुलाई उद्धार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न पनि माग गरे । नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताए ।
समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ । समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताए ।






