अमेरिकाले नेपालको छिमेक नीतिबारे जिज्ञासा राख्योः प्रदीप ज्ञवाली
प्रकाशित मिति : पुस ७, २०७५ शनिबार
निकै लामो अन्तरालका नेपाल र अमेरिकावीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध स्थापित गरेको देश अमेरिका हो ।
हाम्रा सम्बन्धहरु औपचारिक, राजनीतिकदेखि लिएर आर्थिक, सामाजिक, सांस्कृतिक र जनस्तरमा समेत फैलिँदै गएका छन् । अमेरिकामा निकै ठूलो नेपाली डायस्पोरा छ । नेपालको शिक्षाको क्षेत्रमा पिसकोर अमेरिकी भोलेन्टियरहरुले निकै ठूलो सक्रियता पनि देखाइरहेका छन् । यी सबै परिप्रेक्ष्यमा हेर्दा मित्रतालाई थप सुदृढ गर्ने हिसाबले मैले अमेरिका भ्रमण निकै फलदायी रहेको महसुस गरेको छु ।
नेपालका निम्ति कुन खास प्रोजेक्टमा कति सहयोग प्राप्त भयो भन्ने हिसाबले हामीले सम्बन्धलाई मापन गर्ने होइन । हामीले मापन गर्ने भनेको नेपालको अन्तरराष्ट्रिय सम्बन्ध कति फराकिलो भयो, नेपालप्रति हाम्रा मित्रहरुको रुची, आकर्षण कति बढ्यो, र नेपालको विकासमा कति साथ सहयोग र समर्थन प्राप्त भयो, त्यसहिसाबले हामीले हाम्रा सम्बन्धहरुलाई मापन गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसदृष्टिमा हेर्दाखेरि सम्बन्धलाई अझ प्रगाढ बनाउन, अझ सुदृढ बनाउन र अझ फराकिलो बनाउनको निम्ति मैले लामो समयको अन्तरालपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले गरेको यो औपचारिक भ्रमण फलदायी रहेको मैले महसुस गरेको छु ।
निश्चय नै उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानको दृष्टिले लामो एउटा ग्याप देखिन्छ । सक्रिय राजतन्त्र रहेका बेला राजाहरुको औपचारिक भ्रमण भएको देखिन्छ । पछि नेपालका प्रधानमन्त्रीज्यूहरुले संयुक्त राष्ट्र संघको महासभामा आउँदा या अरु सन्दर्भमा भेटघाट गर्नुभएको देखिए पनि औपचारिकरुपमा संरचनागत हिसाबले चाहिँ भेटवार्ताहरु तुलनात्मकरुपमा पातलो नै भएका छन् ।






