Follow @khasokhasmag

‘टुइन वान डल्ले साबुन’


प्रकाशित मिति : श्रावण २१, २०७३ शुक्रबार

– लोक तिवारी

स्याङजा जिल्ला वालिङ गाउँ पञ्चायत वडा नम्बर सात । तिवारी , पंगेनी, ठकुरी, नेवार, अर्याल, पाण्डे, दर्जी, नेपाली, विश्वकर्मा, राना मगर, भट्टराई र घर्तीको बसोबास भएको गाउँ ।

माँझमड़ईमा ‘नेवारको हटिया’ थियो । लाखेनाच र अन्य नेवारी जात्रा मनाइन्थ्यो । प्रायः त्यस भेगको मनोरञ्जनको एक मात्र उपाय । मान्छेको ठूलो भीड़ हुन्थ्यो । प्रायः जसो चाडबाड़ बर्षयाममा हुने हुँदा बाटो अति हिलो हुन्थ्यो । तीजमा लगाएको नयाँ लुगा हिलोले मैलो हुन्थ्यो ।

त्यसबेला जम्मा २ जोडा कपडा हुन्थे, राख्ने र फार्ने । तीजको बेलामात्र नयाँ कपडा किन्ने चलन बर्षको एक पटक । लुगा किन्ने पसल त्यती धेरै थिएनन् । हाम्रो कपड़ा किन्ने दोकान महानन्द पण्डितको पसल । र लुगा सिउने दर्जी छेउडाड़ाका माइला दाई ।

म सानो थिएँ । घर मैं प्रारम्भिक शिक्षा भयो । एकै चोटी ४ कक्षामा बुबाले लगेर भर्ना गराईदिनु भयो । स्कुल वालिङ बजारको बाटो गइन्थ्यो । हरेक दिन दर्जीकहाँ गएर मेरो लुगा सिलाइ दिनुभयो भनी सोध्थे । उनले छैन भनेपछि खिन्न मन लिएर घर जान्थें ।

तर एउटा कुराले सधै मलाई सोचमग्न गराउथ्यो । त्यो के भने – ‘माइला दाइले कसरी त्यती धेरै लुगाका बीचमा मेरा लुगाका बारेमा ज्ञान राख्दा हुन् ? न रसिद न लेखापढी । सब दुरूस्त ।’

नयाँ कपडा सिएर घर पुगेपछि पटक पटक लुगा लाउने काड्ने क्रम जारी हुन्थ्यो । त्यसरी जतन गरेर राखेको लुगा एकै दिनमा मैलिएर ध्वस्तै हुन्थ्यो । त्यतीबेला आजकल झै लुगा धुने साबुन पाइदैनथ्यो । मुस्किलले डल्ले साबुन मात्र पाइने । पिनाले नुहाउनेलाई डल्ले साबुन चीजै हुन्थ्यो । नुहाउने र लुगा पनि धुने, टुइन वान डल्ले साबुन ।

त्यतीबेला सबैका घर माटाका र माटैले लिप्ने । हाम्रो मामाघर तिरका घर कमेराले (सेतो माटो ) ले पोतिन्थ्यो । तर हाम्रातिर भने वोगटी डाडाको पँहेलो माटोले । मैले हजुरआमालाइ सोध्ने गर्थें – ‘हैन हाम्ले किन कमेराले नपोतेको आवइ ?’  उहाँ भन्नु हुन्थ्यो -‘सेतोमाटो हामीलाई फाप्दैन ।’ तर पछि थाहा भयो नफाप्ने होइन रहेछ नसकिने रहेछ । बर्षमा दुईपटक पूरै लिपपोत हुन्थ्यो । हजुरबाको श्राद्धको एकछाकेका दिन र सोह्र श्राद्धको एकछाकेका दिन । त्यतीबेला घरका सबै लुगा फाटा पनि धोइन्थ्यो । सिरक र डसेनाका खोलहरु खरानी पानीमा उमालेर धोइन्थ्यो । साबुन नास्ती । ती कपडाले मुहुराको राम धुलाई पाउँथे । राख्ने कपड़ामा भने डल्ले साबुन नसिब हुन्थ्यो ।

तिनताका प्राय सबै मानिसले तमाखु, ककड, भुसाहा खान्थे । फूलछाप र लक्ष्मीछाप भुसाहा निकै चलेका थिए । सबैसग आआफ्नै चिलिम हुन्थ्यो । आशा चुरोट पाहुना आउँदा सत्कारका लागि दिइन्थ्यो । भुसाहा खानेका बुढी औला र माँझी औलाका बीचमा पहेलो दाग हुन्थ्यो, जुन अम्मली हुनुको दसीका रूपमा रहिरहन्थ्यो । गैडा र याक चुरोट महाजनले मात्र पिउथे । लालिगुराँस त नाममा मात्र सिमित । चुरोटका डिब्बा हाम्रा लागि चिठ्ठा खेल्नका लागी अत्यावश्यक । खोजीखोजी ल्याउने । त्यही चिठ्ठा राज्जे, गुच्चा, बल खोपी, टाँक गेम, कबड्डी, डन्डी वीयो हाम्रा खेल खेल्ने विधा थिए ।

मलाई बाले धेरै माया गर्नु हुन्थ्यो । घर मैं कखरा चिनियो । बेशी नयाँ घरेको गोठमा चिरञ्जिवी पाँडेका ज्वाई (खर्यानका सर, नाम थाहा भएन ) सँग केही समय पढेपछि मलाई पूर्णामृत भवानी हाइ स्कुलमा ४ कक्षामा भर्ना गरियो । म सारा स्कुलमै सानो थिएँ । मैले ४ कक्षा देखी १० सम्म पढदा कहिले नयाँ किताब पाइन । पाँडे मेघनाथका पुराना किताबले काम चलाउनु पर्यो ।

कहिले सग्ला किताब पढ्न जुरेन । किताबमा खोल ( जिल्दा) हाल्न चुरोटका कार्टुनका हुन्थे । त्यतीखेर अमेरिकाले कामको लागी खाद्यान्न भन्ने कार्यक्रम चलाएको थियो । खाद्यपदार्थमा चनाको पिठो, गहुको पिठो, पाउडर दूध खैरो कागजको बोरामा आउँथ्यो । जुन किताबको गाता हाल्न खासा हुने । कहिलेकाँही पुरानो गोर्खापत्र पनि प्रयोग गरिन्थ्यो । त्यतीखेर चीनीया म्यागजिन चीनको गाता हाल्नेहरूको किताब विशेष हुने, तीनै किताब त गुरूहरूले पनि पढाउन प्रयोग गर्थे ।

हाम्रो घरमा ठूलो परिवार । विहानको खाना पाक्न ढिलो हुने हँुदा मलाई हजुरआमाले प्राय सधै नुने भात पकाएर दिनुहुन्थ्यो । र त्यही खाएर स्कूल जाने गर्थें । मैले ८ बर्षको उमेरवाट १४ बर्षको उमेरसम्म स्कुलमा कहिले खाजा खान पैसा पाइन ।

क्रमश :

(लेखक अमेरिका निवासी सफल व्यवसायी हुन् । मेरिल्याण्डमा रेष्टुरेण्ट, अर्गानिक फार्म लगायतको व्यवसाय संचालन गर्दै आएका तिवारीको कतार र नेपालमा पनि व्यवसायहरु छन् । सामाजिक सेवामा सकृय तिवारीले अमेरिकामा विभिन्न सामाजिक संघ संस्थाहरुको पनि नेतृत्व गरिसकेका छन् । )

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com