भैँसी गोठालोदेखि उपकुलपतिसम्म


प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार

धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बिपी (बलभद्रप्रसाद) दास स्कुल पढ्दा भैँसी गोठाला जान्थे । सप्तरी धरमपुर–६ का बिपीले ०२४ सालमा ३ कक्षामा पढ्दादेखि नै भैँसीको गोठालो गर्नुपरेको थियो ।  भैँसीमाथि चढेर गोठालो जाँदा पनि उनको हातमा किताब भने छुट्दैनथ्यो । खेती किसानी गर्ने सामान्य परिवारमा जन्मेका

उनलाई पढ्नका लागि पारिवारिक वातावरण थिएन । तर, पनि उनमा अध्ययनप्रति गहिरो रुचि र लगाव थियो । जसले गर्दा उनले आफूलाई प्राध्यापक डाक्टर बनाउन सफल भए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा कार्यरत बिपीले २ सय ५२ जना चिकित्सक र १५ सय बढी कर्मचारीको नेतृत्व सम्हालिरहेका छन् । प्रतिष्ठानलाई मुलुककै उत्कृष्ट शिक्षालय तथा उपचार केन्द्र बनाउनुमा उनको ठूलो योगदान छ ।

‘सामान्य किसान नरीलाल दासका कान्छा छोरा यति उच्च पदमा पुग्लान् भन्ने कसैले सोचेकै थिएन,’ स्थानीय काजी पोखरेल भन्छन्, ‘पढाइमा निकै रुचि राख्ने बिपी आज नागरिकको उपचार गर्ने ठूलो अस्पतालको उपकुलपति भएका छन् । धरमपुरवासीका लागि मात्र होइन, पूरै जिल्लाका लागि यो खुसीको कुरा हो ।’

डा. बिपीको परिवार अहिले पनि गाउँमै छ । उनका दाजु देवनारायण दास गाउँमै संघर्ष गरिरहेका छन् । ‘भैँसी चराएर, दोएर बचेको समयमा पढाइ गर्थें,’ आफ्नो कार्यकक्षमा प्रा.डा. बिपीले सम्झिए, ‘मेरो परिवारमा अरू कसैले पढ्न पाएनन् । आफूले दुःख गरेर पढेर आज आफ्नो देशको सेवा गर्न पाएको छु । यसमा मलाई गर्व लाग्छ ।’

डाक्टरी अध्ययन
प्रा.डा. बिपीले सर्वोदय मावि, सप्तरीबाट ०३३ सालमा एसएलसी पास गरे । त्यसपछि ०३६ मा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट आइएस्सी पास गरे । सोही क्याम्पसमा पढ्दै गर्दा कोलम्बो प्लान पाएर उनले भारतको पटनामा एमबिबिएस अध्ययन गर्ने मौका पाए ।

सन् १९९३ मा मेडिकल अफिसरका रूपमा बिपी प्रतिष्ठानमा सेवा सुरु गरेका उनलाई प्रतिष्ठानले नै नयाँ दिल्लीस्थित एम्स् कलेजमा फरमालोजीमा एमडी गर्न पठायो ।

सन् १९९६ मा एमडी सकेपछि उनी सन् १९९९ सम्म सहायक प्राध्यापक भए । २००४ मा अस्पतालको उपनिर्देशक भए । अनि, २००७ मा अस्पतालको निर्देशक हुँदै २०१२ देखि उनले उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनको यही डिसेम्बर अन्तिममा पाँचवर्षे पदावधि सकिँदै छ । अस्पतालमा अन्य उपकुलपतिभन्दा आफूले अलि सुधारका साथै सरकारबाट बजेट ल्याउन सफल भएको दाबी उनको छ । त्यसकारण सरकारले आफ्नो कामको मूल्यांकन गरी पुनः उपकुलपतिको जिम्मेवारी दिए पूरा गर्न तयार भएको उनी बताउँछन् । ‘२२ करोड राज्यले दिँदै आएको थियो । व्यवस्थापनमा सुधार र खर्च कटौती गर्दै गरियो । हाल सरकारले वार्षिक ४९ करोड अनुदान दिँदै आएको छ ।’ उनी भन्छन्, ‘यहाँ अझै धेरै गर्न बाँकी छ । देशकै राम्रो सेवा दिने अस्पताल बनाउनु छ । सरकारले मलाई फेरि जिम्मेवारी दिए म पूरा गर्न तयार छु ।’

श्रीमतीको हौसला
सन् १९९६ मा एमडी कोर्स पूरा गरेर स्वदेश आएपछि उनले फर्माकोलोजी विभागको विभागीय प्रमुख भएर काम गरे । चार वर्षपछि उनलाई विवाहको प्रस्ताव आयो । धरमपुरका आफन्तमार्फत बिहारको बेगुसराई भन्ने ठाउँबाट बिहेको कुरो चल्यो । बोटनीमा एमएस्सी गरेकी पुनम दाससँग सन् १९९० मा उनको मागी विवाह भयो ।

श्रीमती पुनम प्रतिष्ठान हाताभित्र रहेको एनआइसी एसिया बैंकको शाखा प्रमुखका रूपमा कार्यरत छिन् । छोरा तरुण दास भारतमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै छन् । छोरी तान्या दास भरखरै एमबिबिएस सकेर पिजी कोर्स गर्ने तयारीमा छन् । आफ्नो बुवाको पुस्ता खेतीमा भए पनि प्रा.डा. बिपीले आफ्नो पुस्तालाई भने डाक्टरीमा लगाएका छन् । श्रीमतीको साथ, सहयोग र हौसलाले नै आफू आजको स्थानमा पुगेको उनी बताउँछन् ।

उपकुलपति भएपछि के–के गरे ?
उपकुलपतिको जिम्मेवारी सम्हालेपछि उनले एमडी एमएच अध्ययनको व्यवस्था मिलाए । प्रतिष्ठानमा अति विशिष्ट सेवा सञ्चालन भएको छ । पूर्वका नौ स्थानका जिल्ला तथा अञ्चल अस्पतालमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक पठाइएको छ ।
स्न २०१४ देखि दुर्गमका बिरामीका लागि जेनेभा युनिभर्सिटी हस्पिटल स्विट्जरल्यान्डको सहकार्यमा टेली मेडिसिनको सेवा थालनी भएको छ ।

प्रतिष्ठानमा ई–लाइब्रेरी सेवा सञ्चालन भएको छ । प्रतिष्ठान भित्र हुने अनुसन्धान कार्यलाई गुणास्तरीय बनाउने काम आफूले गरेको उनी बताउँछन् । संख्याको दृष्टिले प्रतिष्ठानमा सबैभन्दा बढी अनुसन्धनात्मक कृति प्रकाशन हुँदै आएका छन् । स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग अध्ययन अनुसन्धान तथा उपचार सेवामा पारस्परिक सहयोगसम्बन्धी सम्झौता गरिएको छ । जापानको टोटोरी युनिभर्सिटी, अस्ट्रेलियाको गाइनोकोलोजिकल क्यान्सर सेन्टर र रोयल हस्पिटल फर युमन तथा भारतको मणिपाल र केएलई युनिभर्सिटीसँग समेत सझौता गरी गुणस्तरीय सेवाका लागि प्रा.डा. बिपीले पहल गरेका छन् ।

छुट्टै ब्लड बैँक, सर्जिकल आइसियू, मुटुरोग विशिष्ट सेवा, चार सय बेडको चाइल्ड हेल्थ सेन्टर स्थापना, दुई सय बेडको कार्डियोलोजी सेन्टरको निर्माण, क्याथ ल्याब न्युरो सर्जरीलगायतका सेवा पनि प्रतिष्ठानमा विस्तार भएका छन् । प्रतिष्ठानमा आउने विज्ञ, तथा विशिष्ट अतिथिका लागि ३० वटा रुम भएको अतिथिगृहसमेत निर्माण गरिएको छ ।

प्रा.डा. बिपीका भावी योजना
आफ्नो कार्यकाल सकिन दुई साता पनि बाँकी नहुँदा प्रा.डा. बिपी अझै धेरै काम गर्न बाकी रहेकोमा चिन्ता व्यक्त गर्छन् । धरानको छाता चोकमा प्रतिष्ठानको नाममा रहेको जग्गामा पाँच सय बेडको अस्पताल निर्माण गर्ने योजना रहेको उनी बताउँछन् । अस्पतालपरिसरमा प्रतिष्ठानको आफ्नै औषधालय निर्माण सुरु गरिएको छ । काठमाडौं, बाँसबारीमा रहेको प्रतिष्ठानको जग्गा उपयोगका लागि पनि योजना बनाइरहेको उनको भनाइ छ । ‘प्रतिष्ठानलाई युनिभर्सिटीबाट फुल मेडिकल युनिभर्सिटी बनाउने तयारी भइरहेको छ ।

मेरो उपकुलपतिको कार्यकाल सकिए पनि म यहाँको प्राध्यापक भएकाले व्यक्तिगत तवरबाट पनि यी सेवा विस्तारका लागि योगदान गर्नेछु,’ आफ्नो सपनाको बारेमा भने, ‘प्रतिष्ठानलाई फुल युनिभर्सिटी बनाएर देश–विदेशका बिरामी यहाँ आउने वातावरण बनाउन सके मात्र मेरो सपना पूरा हुनेछ ।नयाँ पत्रिकाबाट

देवेन्द्र कार्की/धरान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com